गाउँपालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

विकल्प न्यूज / बेनी

मंसिर १५ गते ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेश गरिएको जानकारी दिए ।

“म्याग्दीको अन्नपूर्ण–४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्कीको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ”, उनले भने, “यहाँको गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट वञ्चित भएकाले तथ्यसहित दाबी पेश गरिएको हो ।”


गत वर्षको वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच समूहका ५४ जनाले रु एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ ।

शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाल लगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाँट गर्दै आएको छ ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जाेगले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए ।