बेनी–गलेश्वर सडक खण्ड कालोपत्र सुरु

ठाकुरप्रसाद आचार्य
मङ्सिर ९ गते ।

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र योजना अगाडी बढाइएको थियो ।

बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत सडक स्तरोन्नतिका सहित कालोपत्र गर्न जय धन्नजय÷मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि जेभीसँग दुई वर्षभित्र निर्माण सक्नेगरी १२ करोड २५ लाख ९४ हजार चारसय ३६ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदारले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर एकवर्ष भित्रनै योजनाको काम सम्पन्न गर्न लागेको हो । बेनी देखि गलेश्वर सम्म दुई किलोमिटर एकसय दुई मिटर सडक कालोपत्र हुने भएको छ । सडक कालोपत्र भएपछि प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम,म्याग्दीको उत्तरी भेग र मुस्ताङ जान सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विश्वास व्यक्त गर्नुभयो ।

साघुरो सडकलाई आठ मिटरको फराकिलो पारिएको छ । खोल्साहरुमा कल्भट निर्माण गरिएको छ । दुईसय मिटर आरसीसी ढलान गरिएको छ । सात मिटर चौढाईमा डिबिएसडी प्रविधिको कालोपत्र गर्नका लागि शनिबार देखि प्राइम कोर्ड राख्न थालिएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर अच्युत विलास पन्तले बताउनुभयो । उहाँका अनुसार एकहप्ता भित्र कालोपत्र गर्ने काम सकिनेछ ।

मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन,निरिक्षण र निर्माण व्यवसायीका तर्फबाट पनि निर्माणलाई तिव्रता दिएका कारण ठेक्का सम्झौता मिति भन्दा अगावै सम्पन्न हुनलागेको आयोजनाका इन्जिनियर पन्तले बताउनुभयो ।

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता मितिभन्दा अगावै योजना सम्पन्न गर्न काम थालेदेखि नै निर्माणलाई तिव्रता दिएको बताउनुभयो । योजनाको ठेक्का लिने र काम नगर्ने प्रवृत्ति मौलाइरहेका समयमा बेनी गलेश्वर सडक खण्डमा भएको निर्माण कार्यलाई म्याग्दीवासीहरुले प्रशंसा गरेका छन् ।