ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दी,मङ्सिर ६ गते ।
माथिल्लो मुस्ताङको एतिहासिक वस्ती लोमान्थाङको विकासका लागि पाँचकरोड बराबरको योजना संचालन हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा लोमान्थाङको वस्तीलाई व्यवस्थित गर्न पाँचकरोड रुपियाँ बराबरको योजना विनियोजन गरेको हो ।
पूर्वाधार विकास कार्यालय मुस्ताङ मार्फत कार्यान्वयन हुने गरि लोमान्थाङमा स्वागत गेट देखि लोमान्थाङ वाल वरिपरि सडक निर्माणका लागि दुई वटा शिर्षकमा वहुवर्षीय ठेक्का मार्फत उक्त योजना कार्यान्वयन गरिने भएको छ । लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको यस वस्ती पर्यटकीय स्थल समेत हो ।
प्रदेश सरकारबाट विनियोजन भएको कार्यक्रम कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालयले सुरु गरेको कार्यालयका प्रमुख अजय श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लोमान्थाङको विकासका लागि पाँचकरोडको योजना प्राप्त भएको छ । योजना कार्यान्वयनका लागि अहिले डिपिआर बनाउन लागेका छौं । आगमी माघ वा फागुनदेखि योजना कार्यान्वनयमा लैजान कार्यालय जुटेको छ ।’’ डिपिआर बनेपछि बजेट र समय निर्धारण हुने उहाँले बताउनुभयो । दुई देखि तिनवर्ष भित्र योजना सम्पन्न गर्ने कार्यालयको सोच रहेको उहाँले बताउनुभयो ।
लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ढुकके विष्टले लोमान्थाङ माटोको सहरका रुपमा परिचित भएकाले यसलाई व्यवस्थित बनाउन प्रदेश सरकारले विनियोजन गरेको योजनाले स्थानीयवासीहरुमा खुसी छाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यतिधेरै बजेट ल्याउने हाम्रो पहुँच थिएन । लोमान्थाङको एतिहासिकतालाई बुझेर प्रदेश सरकारले यसपाली ठूलो बजेट दिएको छ । यसलाई पूर्ण रुपमा कार्यान्वनय गर्न हामी सवै एकतावद्ध छौं ।’’ गोरखापत्रबाट