विकल्प न्यूज/बेनी
मङ्सिर ६ गते ।
तत्कालिन नेकपा माओवादी सेनाका कमाण्डर म्याग्दीका एक युवा रुसी सेनामा भर्ती हुनुभएको छ । माओवादी पार्टीले संचालन गरेको दशवर्षे जनयुद्धका क्रममा कम्पनी कमाण्डर सम्मको भूमिका निर्वाह गर्नुभएका मंगला गाउँपालिका ४ वरंजाका रमेश विक(डायमण्ड) रसीयामा युक्रेन विरुद्धको युद्ध लड्न भर्ना हुनुभएको छ ।
रुसी सेनाको पोषाक सहित हतियार भिरेको फोटो विकले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्दै लेनिनको देशबाट अभिवादन भन्दै उहाँले पुटिनको सिपाईका रुपमा जिम्मेवारी सम्मालेको उल्लेख गर्नुभएको छ ।
गणतन्त्र स्थापनाका लागि युद्धमा सहभागि हुनुभएका विक अहिले युक्रेन विरुद्धको भयनक युद्धमा सहभागि हुन रुसी सेनामा भर्ती हुनुभभएको छ । नेकपा माओवादी विभाजन हुँदा आन्दोलन कमजोर भएको र वर्तमान राजनीति भित्र विकृति मौलाएका कारण आफुले राजनीति छाडेर वैदेशिक रोजगारीको बाटो रोजेको विकले डेढ महिना अघिको भेटमा बताउनुभएको थियो ।
विकले सामाजिक संजालमा लेख्नुभएको छ, ‘‘हिजो नेपाली जनताको मुक्तिका लागि हतियार भिरियो आज पराई भूमिको रक्षा,विस्तार र आफ्नो पारिवारिक व्यवस्थापनका लागि हतियार भिरेको छु ।’’
नेपालमै बसेर अहिलेको जस्तो राजनीति गरेको भए पारिवारिक व्यवस्थापन गर्न कठिन थिएन उहाँले लेख्नुभएको छ, ‘‘ राइफल त हिजो दशवर्षे जनयुद्धका क्रममा बोकेकै हो र आज पनि बोकिरहेको छु । पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दैै आफू र पार्टीलाई समेत बद्नाम गर्नुभन्दा वरु विदेश गई रगत,पसिना बगाएर परिवारको उचित व्यवस्थापनसँगै पार्टी आन्दोलनलाई आर्थिक नैतिक,वैचारिक सहयोग एवम् समर्थन गर्नु नै उचित लाग्यो र अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरियो ।’’
राजनीति पनि गरौं भन्ने सोच राखेको भए पार्टी विभाजन पछि २०७१ मै विप्लव नेतृत्वको नेकपा म्याग्दीको जिल्ला सेक्रेटरी भइसकेको थिएँ । अहिले सम्म केन्द्रिय सदस्य हुनेथिएँ उहाँले लेख्नुभएको छ ।
‘‘ राजनीति सँगै सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति कठिन थिएन । तर फेयर राजनीति गर्न खोज्ने,आफ्नो कारण आफू स्वयम र पार्टीलाई कुनै दाग नलागोस भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन ।’’ विकले लेख्नुभएको छ ।
विक जनयुद्धमा करिब पाँचवर्ष जति विताउनुभएको सहकर्मीहरु बताउँछन् । तत्कालिन माओवादी सेनाले गरेका ठूला ठूला आक्रमणमा भाग लिनुभएको विकको युद्धको राम्रो अनुभव छ । युद्धको अनुभव भएका कारण विक अहिले रुस र युक्रेन युद्ध चलिरहेका समयमा रुसी सेनामा भर्ना हुनुभएको हो ।
तत्कालिन समयमा विक दम्पत्ती नै माओवादी आन्दोलनमा थिए । २०६२ ÷०६३ सालको जनआन्दोलन पश्चात विक खुल्ला राजनीतिमा सक्रिय हुनुभयो । माओवादी विभाजन पश्चात मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीमा आवद्ध हुँदै त्यसपछि नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा तर्फ विक लाग्नुभएको थियो । पछिल्ला केही वर्ष यता विक वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्थ्यो । दुईमहिना अघि नेपाल आउनुभएका विक यहाँबाट रुसी सेनामा भर्ना हुन रुस पुग्नुभएको हो ।