पर्यटक लोभ्याउँदै रुप्से झरना (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मंसिर २ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा यतिखेर आन्तरिक पर्यटकको भिड लागेको छ । मुस्ताङ भ्रमणमा हिडेका पर्यटकहरु कालिगण्डकी करिडोरको छेवैमा पर्ने झरनामा रोकिएर तस्विर र भिडियो खिच्ने गर्दछन् ।

केही वर्ष पहिला रुप्सेमा आएको भिषण बाढी र पहिरोका कारण झरनाको स्वरुप विग्रीएको देख्दा पहिलो पटक झरना हेर्न आएका पर्यटक भने खिन्न हुने गरेका छन् । विस्तारै पहिरो रोकथाम हुँदै जान थालेपछि झरनाको स्वरुपमा पनि परिवर्तन देखिन थालेको छ । पछिल्लो समय झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ ।

झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भिड बढ्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ ।तिन वर्षअघि आएको भीषण बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । झरनामा पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्नुपर्ने झरनामा भेटिनुभएका प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो ।