ताजा समाचार:
Search

मंगलामा सार्वजनिक सुनुवाई सम्पन्न 

विकल्प न्यूज/बेनी

कात्तिक २३ गते ।

मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पहिलो चौमासिकको अवधिमा प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना तथा कार्यक्रमका वारेमा  सेवाग्राहीहरुबाट राय सुझाव लिन पालिकाले वडा नम्बर ३ आर्भाङमा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित भएका वडा नम्बर ३ र ४ का स्थानीयवासीहरुले सडक सुधार,न्यायोचित रुपमा कृषि अनुदानको वितरण,प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायत पालिकाबाट प्रवाह भएका सेवाका वारेमा गुनासो राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा बरंजा झाँक्रीपानीका कमल थापाले विद्यालयको प्रवेशद्धार निर्माणका लागि कम बजेट विनियोजन गरेको र सडक निर्माणका लागि ५ लाख रुपियाँ कम भएको गुनासो व्यक्त गर्नुभयो ।

थमबहादुर थापाले उपभोक्ता समितिले योजना कार्यान्वयन गरेपछि उपभोक्ताहरुका माँझ सार्वजनिक सुनुवाई मार्फत योजनाका वारेमा जानकारी नदिएको र पालिकाले बजेट विनियोजन गर्दा विभेद गरेको गुनासो पोख्नुभयो ।

यस्तै आर्भाङका श्यामबहादुर थापाले कृषि अनुदानको वितरण न्योचित नभएकोप्रति गुनासो राख्नुभयो । वडा कार्यालयबाट अनुदान वितरणको व्यवस्था मिलाउन उहाँले अनुरोध गर्नुभयो । व्यवस्थित नाली सहितको सडक निर्माण गर्न पालिकाले जोड दिनुपर्ने उहाँको भनाई थियो ।

खिमनाथ आचार्य,तेजेन्द्र आचार्य,चक्रबहादुर रोका र गंगाप्रसाद पुर्जाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रोजगारदाता छनौंट गर्दा राजनीतिककरण भएको,वडामा बजेट विनियोजन असमान भएको र दह हुँदै भकुवा जाने सडक मर्मत गर्न पालिकाले वेवास्ता गरेको भनाई राख्नुभयो ।  साथै उहाँहरुले पालिकाबाट विनियोजन भएका विकास योजनाहरुको प्रभावकारी अनुगमन गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।

पालिकाभित्र कार्यान्वयन हुने प्रदेशका पूर्वाधारका योजनाहरुमा स्थानीयहरुवासीहरुसँग कुनै समन्वय नभएकोप्रति सहभागिहरुले गुनासो गरेका थिए । सार्वजनिक सुनुवाईमा उठेको प्रश्न,जिज्ञास र गुनासोहरुको  जवाफ दिदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सीमित स्रोतसाधनका कारण अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताउनुभयो । कृषि अनुदानको वितरणमा राजनीतिकरण नगरेको बताउँदै आगमी दिनमा वितरणलाई अझ पारदर्शी र किसानमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले वडा कार्यालय मार्फत कृषि अनुदानको फारमहरु संकलन गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

सडकलाई दिगो रुपमा संचालन गर्नका लागि सडक सुधार योजनालाई प्राथमिकतामा राखेर पालिकाले काम गरेको उहाँको भनाई थियो । पालिका र प्रदेश सरकारको बजेटबाट गाउँपालिका भित्रका सडकहरु स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेको बताउनुभयो ।

सहभागिहरुको जिज्ञासाको जवाफ दिदै पालिका अध्यक्ष रोकाले प्रत्येक योजनाका उपभोक्ताहरुले पारदर्शीता र सुशासनका लागि खर्च हिसावको लेखापरिक्षण गरी सार्वजनिक गर्नुपर्ने बताउनुभयो । आगमी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाउने उहाँको भनाई थियो ।

गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको विस्तारै प्रतिफल देखिदै आएको बताउदै आगामी दिनहरु बास्तविक किसानलाई अनुदानमा समेट्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । “गाउँबाट उर्जाशिल युवाहरु विदेश पलायनले उर्भर खेतीबारी बाँझो हुने क्रम बढेको छ। गाउँमै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिएका छौ ।” उहाँले भन्नुभयो । “आगामी दिनमा अनुदान वितरण समन्वय र सहकार्य गरेर बास्तविक किसालनाई समेट्छौ ।’’

रोजगार संयोजक कृष्ण भुषालले रोजगारदाता छनौट गर्दा कुनै राजनीति नगरेको र लाभग्राहीले भरेको फर्मका आधारमा विभागबाट नै छनौंट हुनेगरेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका र ४ का वडाध्यक्ष लालबहादुर रोकाले वडाको विकासका लागि विनियोजन भएको बजेटलाई सदुपयोग गर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले प्रथम चौमासिक अवधिमा पालिकाबाट प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना र कार्यक्रमका वारेमा सार्वजनिक सुनुवाई मार्फत सेवाग्राहीबाट गुनासो,जिज्ञासा र राय सुझाव लिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रम मार्फत प्राप्त भएका राय सुझावले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत पौडेललको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । वडाअध्यक्ष,कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र बरंजावासीको उपस्थितमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार हरिकृष्ण गौतम र ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो ।