लोकसंस्कृतिको अध्ययन गर्न लोकवार्ता परिषदको म्याग्दीमा सङ्गोष्ठी

ठाकुरप्रसाद आचार्य/बेनी
कात्तिक २३ गते ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विकास संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ । विकासका नाममा अहिले लोकसंस्कति र मौलिकताको विनास भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । लोकसंस्कृतिको संरक्षणका लागि सवैजना एकतावद्ध भएर जुट्न उहाँले अनुरोध गर्नुभयो ।

म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बुधवार लोकवार्ता परिषद् नेपालको १२ औं सङ्गोष्ठीको उद्घाटन गर्नुहुँदै कुलपति राईले नेपाली जनजीवन,प्रचलित संस्कृति,लोकसंस्कृति,परम्परा र मौलिकताको संरक्षणका लागि जुटनुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रा डाँडाकाँडा,फुल,पात,जंगल,खोला,नाला,माटो,ढुङ्गानै हाम्रो इतिहासका कडी हुन । प्राकृतिक सम्पदाहरु जस्ताको त्यस्तै सुरक्षित राख्न सकेमा मात्र जनतासँग सम्बद्ध विकासको अवधारणाले सार्थकता पाउँछ ।’’

हजारौं वर्ष देखि मानव पुर्खाले आर्जन गरेका ज्ञान,जीवन दृष्टीकोण र सङ्घर्षका कथाहरुनै लोकवार्ता भएको कुलपति राईको भनाई थियो । नेपालका जातजाति र भाषाभाषीमा प्रचलित लोकअख्यान र लोकवार्ताको खोजी तथा संरक्षण गर्न प्रज्ञा प्रतिस्ठानले गाउँगाउँमा अभियान थालेको उहाँको भनाई थियो ।

सवै भाषा,सवैको ज्ञान,सवैको प्रज्ञा प्रतिष्ठान भन्ने आर्दश वाक्यलाई आत्मसाथ गर्दै प्रतिष्ठानलाई गाउँगाउँमा पु¥याउने अभियान संचालन गरेको उहाँले बताउनुभयो । हामीले मौलिक स्थान,मौलिक नामहरु, मौलिक लोकसंगितलाई संरक्षण गर्नुपर्दछ कुलपति राईले भन्नुभयो, ‘‘यी इतिहासका दर्विलो आयम हुन जसले पुर्खाहरुको इतिहास झल्काउँछ । विकासका नाममा हामीले हाम्रो संस्कृतिलाई मेट्नु हुँदैन । विकास भनेको संस्कृतिमैत्री हुनुपर्दछ । सस्कृति मैत्री विकास दिगो हुन्छ ।’’

प्रज्ञा प्रतिष्ठानको ६८ वर्षको इतिहासमा हामीले पहिलो पटक लोकसंस्कृति,भाषा,समाज,मौलिक संस्कृतिको अध्ययन गर्न गाउँगाउँमा प्रज्ञा प्रतिष्ठान पु¥याउने र अध्ययन गर्ने अभियान संचालन गरेको उहाँले बताउनुभयो ।

लोकवर्ता सङ्गोष्ठीमा हुने बहस र छलफलको निचोडलाई ज्ञानका रुपमा समुदायमा प्रसारित गर्ने पुस्तक प्रकाशन गरिने लोकवार्ता परिषद्का कार्यक्रम संयोजक प्रतिभा पुनले बताउनुभयो ।

प्राज्ञिक तथा विद्धान व्यक्तिहरुबाट लोकवार्ताका विविध विषय र आयमबारे कार्यपत्र प्रस्तुत भएको उहाँले बताउनुभयो । सङ्गोष्ठीको अवसरमा बिमको ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थल प्रभुचेला धुरीको स्थलगत अध्ययन भ्रमण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्धान तथा विषयविज्ञहरुद्धारा ९ वटा कार्यपत्र प्रस्तुत गरिएको छ ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खानी र छन्त्याल समुदाय,दिल विक्रमले लिम्बुवानीको भाष,मेजन पुनले बेगखोलामा प्रचलित भिमसेन पुजा,भुवनेश्वर पनेरुले रानीमौलाको भारतको विष्लेषण,डा. यज्ञश्वर निरौलाले पुनमगर समुलदायको भाषिक अवस्था विषयमा कार्यत्रपत्र प्रस्तुत भएको थियो ।
यसैगरी राजेन्द्र कुमार आचार्यले लुते संक्रान्ति र यसलाई मनाउने विधी,सितल गिलीले योगी सम्प्रदाय र आदर्श,डा गणेशप्रसाद घिमिरेले लोकदोहोरीमा श्रृङ्गार रस,मनोहर लामिछानेले सिंजाहरुको इष्ट,नेपालगञ्जको खसयारी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको जनकवी धर्मराज–सावित्री थापा स्मृति प्रतिष्ठानका सचिव मदनराज थापाले जानकारी दिनुभयो ।

कार्यपत्र माथि भएको बहश तथा समिक्षापछि आएको निचोडलाई पुस्तकका रुपमा प्रकाशन गरिने लोकवार्ता परिषद्का सचिव मनोहर लामिछानेले बताउनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजाले इतिहास र संस्कृतिको जगेर्नामा लोकवार्ता नेपालको कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । सङ्गोष्ठीमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी अधिकारीले लोक संस्कृति र परम्पराको खोज तथा अन्वेषणमा परिषद्ले चलाएको लोकवार्ताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न जातजातिको संस्कृति,जीवनशैली,धार्मिक स्थल,प्राकृतिक सम्पदा,कला,साहित्य आदिको उत्थान र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बिमको किसानी माविका प्रअ जंगबहादुर गर्बुजाले बताउनुभयो ।

नेपाली जनजीवनमा प्रचलित संस्कृति,लोककला,साहित्य,संस्कार,रीतिथिति आदि परम्परागत ज्ञानको अध्ययन गर्न र संरक्षणको उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य गरेर लोकवार्ता परिषद् नेपालले म्याग्दीका तिन स्थानमा कार्यक्रम आयोजना गरेको कार्यक्रमको म्याग्दी संयोजक प्रतिभा पुनले बताउनुभयो । उहाँका अनुसार शुक्रबार अन्नपूर्ण गाउँपालिका ७ मा रहेको करबाकेली र शनिबार बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा लोकवार्ता परिषद्को सङ्गोष्ठी हुने छ ।