पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर पत्रकार महासंघको टोली मालिका धुरीमा

विकल्प न्यूज/बेनी
कात्तिक २२ गते ।


म्याग्दीको मालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रचार संगै आन्तरिक पर्यटन प्रवर्धनमा सघाउने उद्देश्य अनुरुप महासंघले संचालन गरेको अभियान अन्तर्गत वुधबार विहान मालिका धुरीमा रहेको मालिका देवि मन्दिर परिसरमा कार्यक्रम गरेको हो ।

समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाईमा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा आयोजित कार्यक्रममा बोल्दै मालिका गाउँपालिका अध्यक्षा बेग प्रसाद गर्वुजाले मालिकामा धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि मालिकाले विभिन्न योजना तथा कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

गतवर्ष रघुगंगा र मालिका गाउँपालिकाको ५÷५ लाख बजेटले पानीको पाईप विछ्याउने कार्य गरेको उहाँले बताउनुभयो । मालिका धुरीमा पर्यटन प्रवर्धनका लागि पर्यटन सूचना वोर्ड राख्ने, सत्तल निर्माण, रेलिङ तथा गेट निर्माण लगायतका कार्यहरु भएको भन्दै अध्यक्ष गर्वुजाले हाल ८७ लाखको बजेटमा सडक विस्तारको कार्य संचालन भईरहेको बताउनुभयो ।

उहाँले मालिका धुरीमा आन्तरिक पर्यटकलाई आकर्षित गर्नका लागि थप पूर्वाधार निर्माणका लागि नीजि क्षेत्रहरु संग पनि समन्वय गर्न सकिने बताउनुभयो । मालिका देवि विकास समितिका अध्यक्ष छक प्रसाद पाईजाले १९१० देखि मालिकामा पूजा संचालन सुरु भएको भन्दै मनोकाँक्षा पुरा हुने विश्वासका साथ मालिकामा पछिल्लो समय श्रद्धालु भक्तजनहरुको उलेख्य उपस्थिति हुन थालेको बताउनुभयो ।

जेष्ठि पूर्णीमा, चन्दि पूर्णीमा र तिहारको भाईटिकामा विशेष पुजाहुने मालिकामा अन्य दिनहरुमा पनि भक्तजनहरु आउने गरेको बताउनुभयो । नियमित पुजारी तथा हेरालोको व्यवस्था नभएकाले मन्दिरको ढोका खुलै राखिने र त्यहाँ पुग्ने भक्तजन तथा धार्मिक पर्यटकहरुले जुनसुकै समयमा पनि पूजाआजा नर्ग सक्ने व्यवस्था गरिएको अध्यक्ष पाईजाको भनाई थियो ।

विमका समाजसेवी पलविर जुग्जालीले मालिका, कालिका र जालपादेविको एकै ठाउँमा पूजा गर्न सकिने मालिका पवित्र र प्रसिद्ध धार्मिक स्थल रहेकाले यस क्षेत्रको विकासमा स्थानीय सरकार तथा संघ र प्रदेश सरकारले समेत चासो दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले मालिकाको यात्रा गर्दा सहज सडकको पहुँच, व्यवस्थित पदमार्ग, विच विचमा बस्ने, चिया नास्ता गर्न सकिने तथा पिउने पानीको व्यवस्था लगायतका पूर्वाधार निर्माण हुन सके म्याग्दीको मालिका नेपालकै चर्चित धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघमा आवद्ध तथा जिल्लाका अन्य क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार हरिकृष्ण गौतमले आफु यो सहित छैठौँ पटक मालिका धुरी पुगेको अनुभव सुनाउनुभयो । दोस्रो पटक मालिका धुरी पुगेका पत्रकार शिव आचार्यले धार्मिक महत्व वोकेको मालिका धुरीमा पुग्दा आफुलाई निकै आनन्द लागेको बताउनुभयो ।

कार्यक्रम महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाको प्रमुख अतिथ्यता, महासंघ उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।

मालिका धुरीबाट विहान सवेरै देखिने सूर्योदय, मालिका परिसरमा रहेका ढुङगाका अग्ला चुचुराहरु, आँखै अगाडि देखिने धवलागिरी, निलगिरी, मानापाथी, अन्नपूर्ण लगायतका दर्जनौ हिमश्रृङ्खलाहरु, अग्ला डाँडाकाँडा, जिल्लाका अधिकाँस ग्रामिण वस्तीहरुको दुश्य, विभिन्न प्रजातिका वनस्पति, चराचुरुङ्गी लगायतले पर्यटकलाई सजिलै आकर्षित बनाउन सक्छन ।