ताजा समाचार:
Search

बोयर बाख्रपालनमा रमाएका भकिम्लीका धन श्रीस

ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक २० गते ।

बेनी नगरपालिका ३ भकिम्लीका धनबहादुर श्रीसले १२ वर्ष देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा विताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ ।

उहाँले श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा.लि मार्फत बोयर बाख्राको स्रोत केन्द्र संचालन गर्दै आउनुभएको छ । बोयर जातको बाख्राबाट राम्रो आम्दानी गर्न सकिने उहाँको १२ वर्षको अनुभव छ । श्रीसले जिल्लामा परिश्रमी र लगनशिल किसानको पहिचान बनाउनुभएको छ । आधुनिक खोर निर्माण गरेर उहाँले व्यवस्थित रुपमा बाख्रापालन गर्दै आउनुभएको छ ।

अष्ट्रेलीयाबाट उन्नत जातको बोयर बोका खरिद गरी श्रीसले शत प्रतिशत शुद्ध बोयरका पाठापाठी उत्पादन गरेर देशभरका किसानलाई बिक्री गर्नुहुन्छ । बाख्राका लागि आवश्यक पर्ने पूर्वाधार सहित करिब २ करोड रुपियाँ लगानी भइसकेको उहाँले बताउनुभयो । ६० रोपनी जमिनमा घाँस खेती गर्नुभएको छ ।

परिश्रम गर्न सकेमा बाख्राबाट राम्रो आम्दानी लिन सकिने श्रीसले अनुभव सुनाउनुभयो । बाख्रापालनका लागि सरकारी स्तरबाट अनुदान र समय समयमा तालिम पनि पाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले यहाँ उत्पादन गरेको बोयर जातको बाख्रा देशभर नै पुगेका छन् । पहिला एउटा पाठालाई दुईलाख रुपियाँ सम्म बिक्री गरे । पछिल्ला केही वर्ष यता बोयरको माग आउन छाडेको छ । मूल्य पनि घटेको छ ।’’

अहिले पाँचमहिना देखि एकवर्ष भित्रको बोयरको पाठापाठीलाई असीहजार रुपियाँ सम्ममा बिक्री गर्ने गरेको श्रीसले बताउनुभयो । दुईचार वर्ष अघि माग अनुसार पु¥याउन सकिएको थिएन श्रीसले भन्नुभयो, ‘‘बोयरका बोका र पाठीलाई दुईलाख रुपियाँमा सजिलै बिक्री हुन्थ्यो । अहिले ८० हजार रुपियाँमा पनि बिक्री गर्न समस्या छ । बाख्रापालन तर्फ किसानको आकर्षण घटेका कारण उत्पादन भएका बाख्रा कसरी बिक्री गर्ने भन्ने चिन्ता छ ।’’ श्रीसको बाख्रा फार्ममा माउ र पाठापाठी गरेर ३५ वटा बाख्रा छन् । अहिले पनि वार्षिक रुपमा ३० देखि ४० वटा सम्म पाठापाठी बिक्री गर्दा वार्षिक रुपमा १२ लाख रुपियाँ आम्दानी हुने श्रीसले बताउनुभयो ।

शुद्ध बोयरका पाठापाठीको माग घटेकाले आफूले पनि बाख्राको सख्या घटाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दूईबर्ष अघि फार्ममा एकसय जति शुद्ध बोयर थिए । माग पनि राम्रो थियो । मनग्य आम्दानी हुन्थ्यो’’ उहाँले भन्नुभयो ,“अहिले बाख्रपालनप्रति किसानको आकर्षण घटेको छ । पहिलाको जस्तो बिक्री छैन ।’’ विभिन्न ठाउँबाट किसानहरु श्रीसको फार्म अवलोकन गर्न आउने गरेका छन् ।