ठाकुरप्रसाद आचार्य /बेनी
कात्तिक १७ गते ।
मुस्ताङको जोमसोम हुँदै मनाङको तिलिचो ताल पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । दशैं लगत्तै मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु तिलिचो पुग्न थालेका छन् । जोमसोम–तिलिचो ट्रेक सुन्दर र रणमीय छ ।
जोमसोम–तिलिचो पदमार्ग हुँदै दुईदिनमै तिलिचो पुग्न सकिने भएकाले यतिखेर यो पदमार्गमा पर्यटकको चहलपहल बढेको हो । जोमसोम–तिलिचो ट्रेक करिब एकदशक अघि संचालनमा आएपनि यसअघि खासै चर्चामा थिएन ।
हिमश्रृङ्खला र हिमाली सुन्दर दृश्यको अवलोकन गर्दै दुईदिनको यात्रापछि विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल पुग्न सकिन्छ । तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । मुस्ताङको भ्रमणमा आएका पर्यटकहरु जोमसोम हुँदै तिलिचो ताल पुग्ने थालेका छन् । मन लोभ्याउने सुन्दर दृश्यहरु यो पदमार्गका आकर्षणहरु हुन ।
घरोपझोङ गाउँपालिका वडा नम्बर ५ को पर्यटकीय स्थल ठिनी देखि तिलिचो ट्रेक सुरु हुन्छ । पदयात्रीका लागि यो पदमार्ग छोटो,रोमाञ्चक र आकर्षक छ । ठिनीबाट सुरु भएको पदयात्रा याकखर्क हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास पार गरेपछि तिलिचो ताल पुग्न सकिन्छ ।
मेसोकोन्दो पासको करिब ५ घण्टाको उकालो चढेपछि देखिने सुन्दर तिलिचो तालले भने थकाईलाई विर्साइदिन्छ । यो ट्रेक हुँदै म पहिलो पटक तिलिचो पुगेँ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङका सूचना प्रविधि अधिकृत दिवस सापकोटाले भन्नुभयो, ‘‘यो पदमार्ग साच्चिकै स्वर्ग जस्तो छ । वरीपरी हिमालश्रृङ्खा,हरियाली चरन क्षेत्र,हिमाली डाँडापाखा,याक र चौरी गोठको सुन्दरताले यात्रालाई रमाइलो बनाइदिन्छ ।’’ मुस्ताङ आउने पर्यटकलाई एकपटक जोमसोम–तिलिचो ट्रेकको यात्रा गर्न उहाँले सुझाउनुभयो ।
जोमसोमबाट एक घण्टा ४५ मिनेट सवारीसाधनको यात्रापछि भरपसो भन्ने ठाउँमा पुगिन्छ । त्यसपछि एकघण्टाको यात्रापछि पहिलो दिन चारहजार दुईसय मिटरको उचाईमा रहेको याक खर्कमा बासबस्नुपर्दछ । पदयात्रीका लागि यहाँ दुईघटा घर निर्माण गरिएको छ । यहाँ पानी र दाउराको समस्या छैन । अन्य वन्दोवस्तीका सामानहरु भने आफै लैजानुपर्ने सापकोटाले बताउनुभयो । दोस्रो दिन विहानै आफ्नो यात्रा तय गर्नुपर्दछ । करिब पाँच घण्टा उकालो चढेपछि मेसोकोन्दो पास पुग्न सकिन्छ । त्यसपछि एकघण्टाको यात्रापछि तिलिचो ताल पुगिन्छ ।
पदयात्राका क्रममा चौरी र याकको खर्क,मुस्ताङ्गी च्याङग्राको गोठ,विभिन्न जडीबुटी,उचाईमा रहेको मेसोकोन्दो पास,हरियाली चरन क्षेत्र,निलगिरि,धौलागिरी आइसफल,टुक्चे पिक र तिलिचो पिकको सुन्दर दृश्यले साच्चिकै स्वर्गको अनुभूति दिलाउने हालै मात्र तिलिचो पुगेर फर्किनुभएका बेनीका रोहन श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो पदमार्ग साच्चिकै स्वर्ग जस्तो छ । मनाङ तर्फबाट तिलिचो जानुभन्दा जोमसोमबाट जाँदा निकै रमाईलो र सहज छ । जोमसोमबाट दुईदिनमा सहजै तिलिचो पुग्न सकिन्छ ।’’
पदमार्गमा पर्यटक बढ्न थालेपछि पर्यटकको सहजका लागि पदमार्गको मर्मतसम्भार,साइन पोष्टिङको योजना बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।
पदमार्गमा पर्यटन पूर्वाधार निर्माण गर्नसके जोमसोम–तिलिचो ट्रेकलाई अन्नपूर्ण राउन्डको थोरङ पास जत्तिकै बनाउन सकिने जनमुक्ति युवा क्लब ठिनीका सचिव निरज थकालीले बताउनुभयो । यो पदमार्गलाई संचालन गर्न सकेमा मुस्ताङको पर्यटन विकासमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । जोमसोम भित्रिने पर्यटकलाई जोमसोम–तिलिचो पदमार्गबाट तिलिचो ताल सम्म पुग्नका लागि पर्यटनमैत्री पूर्वाधारको निर्माणको आवश्यकता रहेको बारागुङ मुिक्तक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताउनुभयो ।