इजरायलबाट भाग्यले बँचेका बेनी १० का वडाध्यक्ष मसबीर

म्याग्दी, कात्तिक ४ गते ।

इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु हुँदा घटनाबाट जोगिनु भएका म्याग्दीका मसबीर रोका बाँचेर नेपाल आउँदा पनि त्रास कायमै रहेको बताउनुभएको छ ।

माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा वैदेशिक रोजगारीको सिलसिलामा २०६० मा इराक जान प्रस्थान गरेको भए पनि २०६१ भदौमा इराक पुग्नुभयो । १२ जनाको हत्या भएको घटनाले सँधै तर्साउने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “म ३५ वर्षको हुँदा २०६० मा घरबाट हिंडेको थिएँ, चार महिना भारत बसियो, ६ महिना जोर्डन र त्यसपछि इराकको बगदादमा गएर एक हप्ता बसेपछि बिवान भन्ने कम्पनिमा काम गरें ।’

बेनी नगरपालिका –१० का वडा अध्यक्ष रोका इराकमा दुई हजार डलर आम्दानी हुने लोभमा भारतमा चार महिना र जोर्डनमा छ महिना बस्दै झण्डै एक वर्षमा इराक पुग्नुभएको थियो ।

बेनी नगरपालिका –१० कै कुमार राम्जाली र रघुगंगा गाउँपालिका –५ झिँका अर्का एक गरी म्याग्दीका तीन जना इराक पुग्नुभएको थियो । जोर्डनबाट इराक जानेक्रममा लमजुङका तीन जना र म्याग्दीका तीन जना एउटा गाडीमा चढेको उहाँ सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “म एक वर्ष लगाएर इराक पुगेपछि पाँच वर्ष बसेर फर्किएँ । तर मजस्तै भारत हुँदै कयौं समय लगाएर बिदेश जानेहरु निकै जोखिममा छन् ।”  इराक पुगेपछि एउटा होटलको भुइमै सुतेको उहाँले अनुभव सुनाउनुभयो ।

“ट्वाइलेटमा प्रयोग गर्ने पानी पिएर बाँच्ने प्रयास गरेका थियौं । १० जना साथीलाई त आतंककारीले हत्या गरिदियो । हामी भने भाग्यले बाँच्यौं । कतिपय नेपाली विदेश गएर मृत्यु भएको हो, वा जीवित छन् भन्नेसम्म पनि थाहा छैन” उहाँले भन्नुभयो । अमृतप्रसाद पौडेल / गाेरखापत्र अनलाइनबाट