विकल्प न्युज/ बेनी
कार्तिक ३ गते ।
म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ ।
अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी,३ लिटर तेल लगायत छान्सामा पाक्ने मरमसला र नगद १ हजार वितरण गरिएको छ।
चाडपर्वमा विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न साम्रागी उपलब्ध गराइएको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।
‘दशैंमा चुह्लो नबल्ने परिवारलाई सहयोग गरेका छौ,‘ दशैंमा भात नै खान मुस्किल हुने अवस्था रहने कति दुःखद छ‘ वडा अध्यक्ष श्रेष्ठले भने ।
दशैंमा चुह्लो नबल्ने थप परिवार भेटिएका समेत सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
वडाले चाडपर्व बाहेक विपन्नलाई निशुल्क स्वास्थ्य विमा, अन्य समयमा समेत विभिन्न सहयोग गर्ने गदैं आइरहेको छ । ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड दशैं भएपनि आर्थिक अभावका कारण समस्या परेको बेलामा वडा कार्यालयले दिएको खाद्यान्न सहयोगलेराहत मिलेको ६१ बर्षिय सम्मरबहादुर किसानले बताए ।
उनले ज्यालामजदुरी गर्ने बेलासम्म घर खर्च चलाउन केही सहज भएपनि अहिले बिरामी भएपछि विहानबेलुकी हातमुख जोड्न समेत समस्या भएको बताए ।
दैनिक जीवन निर्वाह कष्टकर बन्दै गएको बेलामा दशैंको मुखमै खाद्यान्न पाएपछि विपन्न परिवारका सदस्यले वडा कार्यालयलाई धन्यवाद दिदैं खुसी ब्यक्त गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य विश्वास श्रेष्ठ, रमेश फगामी र वडा सचिव यामबहादुर थापा मगरको उपस्थिती रहेको थियो । वडा कार्यालयमा रहेको कपडा बैंकमार्फत समेत आवश्यक लत्ता कपडा वितरण भइरहेको छ ।