ठाकुरप्रसाद आचार्य/बेनी
कात्तिक २ गते ।
बालमन्दिरचोकमा सरकारी कार्यालयले अतिक्रमण गरेर बनाएको पर्खालका कारण सडक साघुरो भएको छ । फुटपाथ समेत नहुँदा सडकबाट नै पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।
बेनी नगरपालिकाले सडक फराकिलो बनाउने अभियान चलाएको छ । बेनी नगरले यतिखेर सजिलो र सहज हुने ठाउँको मात्र अतिक्रमण हटाएको छ । अलिकति बलप्रयोग गर्नुपर्ने स्थानमा नगरले हात हालेको छैन । पुराना घरटहरा र सरकारी कार्यालयले अतिक्रमण गरेर बनाएका संरचना जस्ताको त्यस्तै छन् । तर बेनी नगरपालिकाले पछिल्लो समय चलाएको अभियान भने सकरात्मकनै छ । कत्तिपनि परिवर्तन नहुँनु भन्दा अलिकति भएपनि सुधार हुनुलाई नगरवासीहरुले राम्रो नै ठानेका छन् ।
बढ्दो सवारी चापका कारण बेनी बजारका सडकहरु साँघुरो भइसकेका छन् । सडक अव्यवस्थित छ । फुटपाथ छैन । सर्वसाधरणहरु सडकबाट नै पैदल हिड्छन् । सडक फराकिलो बनाउनका लागि गर्नसकिने पक्षहरुका वारेमा अव छलफल र बहश आवश्यक छ । नगरपालिकाले नै अगुवाई गरेर विकल्पहरुका वारेमा छलफलको सुरुवात गर्न आवश्यक छ ।
नगरले सडक फराकिलो बनाउने विकल्पहरुको खोजी गर्ने बेला आइसकेको छ । पुराना घर र सरकारी संरचनाका कारण बेनीको सडक साँघुरो भएका छन् । तत्कालका लागि निजी संरचना हटाउन संभव छैन तर सरकारी संरचना भने हटाएर सडक फराकिलो बनाउन सकिने अवस्था छ । वडा नम्बर ८ ले अस्पतालचोक देखि संगमचोक सम्मको सडक फराकिलो बनाएको छ । नाली,खानेपानीका पाइप,विद्युत पोल व्यवस्थित गरेको छ भने सडक अतिक्रमण गरेर बनाएका संरचनालाई भत्काएर सडक फराकिलो पारेको छ । केही पुराना घर र टहरा भने अझै बाधक बनेका छन् ।
हुलाक कार्यालयले सडक अतिक्रमण गरेर बनाएको पर्खालका कारण हुलाकचोकमा सडक साघुरो भएको छ ।
बेनीका सडकहरु फराकिलो बनाउन र बजारलाई सुन्दर बनाउन सरकारी संरचना र केही पुराना निजी घरहरु बाधक छन् । बालमन्दिरचोक देखि वडा नम्बर ७ को कार्यालय सम्म सरकारी कार्यालयहरुले सडक अतिक्रमण गरेर निर्माण गरेको पर्खालका कारण सडक साँघुरो भएको छ । यस्तै हुलाक चोकमा जिल्ला हुलाक कार्यालयको संरचना, संगमचोक देखि क्याम्पसचोक सम्म पुराना निजी घरहरुले सडकलाई साघुरो मात्र होइन कुरुप नै बनाएका छन् । यस्तै क्याम्पसचोकमा पनि केही घरटहराका कारण सडक साघुरो भएको छ ।
निजी घरहरु तत्काललाई भत्काउन संभव नभएपनि सरकारी संरचनालाई भत्काएर सडक फराकिलो बनाउन सकिने विकल्पहरु छन् । बालमन्दिरचोक देखि वडा नम्बर ७ को कार्यालयसम्म सरकारी कार्यालयले निर्माण गरेको पर्खाल अहिले जिर्ण बनेको छ । यो पर्खालाई दुईमिटर पछाडी सारेर फुटपाथ बनाउन सकिने स्थानीयहरुले बताउँछन् । यसले गर्दा सडक फराकिलो पनि हुने र बजारको सौन्दर्य पनि बढ्ने देखिन्छ । पर्खाल भत्काएर फुटपाथ निर्माण र सडक छेउमा फुलहरु रोप्नसक्ने हो भने बजारको सुन्दरता देखिने स्थानीयहरु बताउँछन् ।
यस क्षेत्रमा जिल्ला प्रहरी कार्यालय,जिल्ला सरकारी वकिल,राष्ट्रिय अनुशन्धान,कर्मचारी मिलन केन्द्र,प्रमुख जिल्ला अधिकारीको आवास,जिल्ला अदालत,जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको कार्याहरु छन् । कर्मचारी मिलनकेन्द्र देखि वकिल कार्यालय सम्मको पर्खाल त जिर्णनै बनेको छ । जसले सडकलाई नै कुरुप बनाएको छ ।
नगरपालिकाले पहल गरे यस स्थानमा सडक फराकिलो बनाउन सकिने बेनी नगरपालिका ८का स्थानीय तथा गैरसरकारी क्षेत्रमा क्रियाशील हरिप्रसाद पौडेलले बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘‘सरकारी कार्यालयहरुको जग्गामा निर्माण गरिएको पर्खालाई दुई मिटर पछाडी सार्न सकिन्छ । यसमा नगरपालिकाले पहल गर्नुपर्दछ । अहिले यो पर्खाल जिर्ण पनि भएको छ । जिर्ण भएको पर्खाल दुईमिटर पर सारेर नयाँ पर्खाल बनाउन सक्ने हो भने सडक फराकिला हुन्छ ।’’ यो क्षेत्रका व्यवसायीहरुले पनि पर्खाललाई हटाएर दुईमिटर सार्नुपर्ने मत राख्छन् । एकजना व्यवसायीले भन्नुभयो, ‘‘यो सडक अत्यन्तै साघुरो भएको छ । नगरपालिकाले हिम्मत गरेर पर्खाल सार्नुपर्दछ । पर्खाल पछिसार्दा सरकारी कार्यालयहरुमा नोक्सान हुँदैन ।’’
जिल्ला सरकारी वकिलको कार्यालय देखि कर्मचारी प्रमुख जिल्ला अधिकारीको निवास क्षेत्र सम्मको पर्खाल जिर्ण भएर कुरुप देखिएको छ ।
विभिन्न संरचनाहरु बनाएर सरकारी कार्यालयहरुले सडक अतिक्रमण गरेको क्षेत्रमा नगरपालिकाले भत्काएर सडक फराकिलो बनाउनुपर्ने अवस्था आएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
यो पर्खालका वारेमा आफूले पहिला देखि नै कुरा उठाएको ७ नम्बर वडाका अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । पर्खाललाई दुईमिटर पछाडी सार्न सक्ने हो भने यो गल्ली फराकिलो पनि हुने र राम्रो पनि देखिने थियो, उहाँले भन्नुभयो, ‘‘यो विषयमा अव नगरपालिकाले बहश थाल्नुपर्दछ । आँटे नसकिने भन्ने छैन । नयाँ पर्खाल बनाउन बजेटको व्यवस्था गरेर यो योजना अगाडि बढाउनुपर्दछ ।’’ नवविकल्प साप्ताहिकमा प्रकाशित