ताजा समाचार:
Search

परिश्रमी खिम ः बङ्गुरपालनमा रमाउँदै (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य \बेनी
असोज २२ गते ।

यहाँका एक युवाले सरकारी अनुदान पाएपछि व्यावसायिक बङगुरपालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बंगुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यवसायिक रुपमा बङ्गुरपाल्न थाल्नुभएको हो । लगानी गर्ने पूँजीको अभावमा भौतारिनु भएका पुनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम बरदान सावित भएको छ ।

आफ्नै गाउँठाउँमा कृषि पेसा गर्ने योजना भएपनि लगानीको अभाव थियो कृषक पुनले भन्नुभयो, ‘‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको बङ्गुर जोन कार्यक्रमले खोर निर्माण गर्न अनुदान दिएपछि कृषि पेसा गर्ने मेरो सपना पुरा भयो ।’’

डेढ वर्ष अघि बङ्गुर जोन कार्यक्रमबाट पुनले १३ लाख अनुदान प्राप्त गरेपछि वाँकी पैसा थपेर २१ लाख रुपियाँमा आधुनिक खोर निर्माण गर्नुभएको थियो । पुनको खोरमा अहिले ७ वटा माउ बङ्गुर र ५० वटा साना पाठापाठी छन् ।

ADV

राम्रो दानापानी र स्यारसुसार गरेमा ८ देखि ९ महिनाको अवधिमा ६० देखि ७० केजी सम्मको बङ्गुर हुने पुनले बताउनुभयो । बङ्गुर मासु बजारमा प्रतिकेजी पाँचसय रुपियाँमा विक्री हुने उहाँले बताउनुभयो ।

दुईमहिनाको पाठापाठीलाई प्रतिगोटा ६ हजार रुपियाँमा विक्री हुने गरेको कृषक पुनको भनाई छ । परिश्रम गर्नसके बङ्गुरपालनबाट राम्रो आम्दानी लिन सकिने पुनको अनुभव छ । डेढवर्षको अवधिमा ४० वटा पाठापाठी र १५ वटा ठूला बंगुर विक्री गरेको उहाँले बताउनुभयो ।

पुनले भन्नुभयो, ‘‘बङ्गुरपालनबाट अहिले सम्म फाईदा भएको छैन । बंगुर विक्री गरेर प्राप्त भएको पैसाले दाना खरिद गरेको छु । बंगुरको संख्या बढाएको छु । साना पाठापाठी बढेर मासुका लागि तयार भएभने राम्रो आम्दानी हुने आशा छ ।’’ तिनवर्ष इराक बसेर एकदशक अघि स्वदेश फर्किनुभएका पुन गाउँघरमै परिश्रम गर्ने सोचका साथ विदेशी नजाने निधो गर्नुभएको छ ।

तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धका क्रममा २०५८ देखि २०६२\०६३ सम्म अर्धभूमिगत राजनीतिमा पनि पुन सक्रिय हुनुभयो । अहिले पुन नेकपा (माओवादी केन्द्र) को बेनी नगर समितिको उपाध्यक्ष हुनुहुन्छ । राजनीति सँगै पुनले बंगुरपालन र सुन्तला खेती गर्दै आउनुभएको छ । पुनको पाँचरोपनी जमिनमा सुन्तला खेती छ । सुन्तला खेतीबाट वार्षिक रुपमा करिब दुईलाख रुपियाँ आम्दानी हुने गरेको पुनको भनाई छ ।

पेसा व्यवसाय गरेर आत्मनिर्भर बनेर राजनीति गर्नुपर्ने उहाँको सुझाव छ । राजनीतिमा अहिले भ्रष्टाचार र दलालीकरण बढेको छ उहाँले भन्नुभयो, ‘‘ नेताहरुले कुनै न कुनै पेसा व्यवसाय गरेर समाजमा उदाहरण देखाउनु पर्दछ । व्यवसाय गरेपछि आफूलाई खर्च गर्ने पैसाको जोह हुन्छ । त्यसैले मैले राजनीति सँगै पेसालाई पनि निरन्तरता दिएको छु ।’’ राजनीतिमा लागेका नेताहरु कृषि पेसा गरेर आत्मनिर्भर हुनुपर्ने उहाँको सुझाव छ ।