विकल्प न्यूज/बेनी
असोज २० गते ।
म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीले समुदायकै नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत गरेका छन् ।
वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको छ ।
ADV
विद्यालय भवन संगै प्रवेशद्धार, खेलमैदान र प्याराफिट निर्माण सहित विद्यालयलाई घेरावार समेत गरिएको छ । छरिएर रहेका साना– साना कक्षाकोठा रहेको र जिर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानध्यापक भोजबहादुर जिसीले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुननिर्माणसंगै हटेको छ ।
गाउँका बालबालिकाहरुले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहज रुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयबासीले प्रवासीहरुको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।
‘‘प्रवासमै रहनुभएका स्थानीयबासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्वता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, संघ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्तत् अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो’’– विद्यालयका प्रअ जिसीले भन्नुभयो ।
विद्यालय भवन पुननिर्माण गर्न गाउँमै रहेका स्थानीयबासीले पनि उत्साहजनक रुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए ।
प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीले बताउनुभयो । समुदायको अग्रसरतामा संघ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुननिर्माणमा राहत भएको उहाँको भनाई छ ।
यस भवन बनाउने अभियानमा नगद रु ५ सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना बालबालिकाहरु अध्ययनरत छन् ।
यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवन सहित कम्प्युटरल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्ष लगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, पुननिर्माण भएको विद्यालय भवनको एक समारोहका बिच उद्घाटन गर्ने तयारी समेत गरिएको छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिनेछ ।
विद्यालय भवन पुननिर्माणमा समुदायका मात्रै २१२ जना व्यक्तिगत चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, दुबै, साउदी र जापानमा रहेका भकिम्लीबासीको अगुवाईमा संकलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् ।
हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुननिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् । विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघ संस्था र सरकारी तवरबाट रु ३ करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ ।
कुल लागतको आधा भन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीबासीकै नेतृत्व र अगुवाईमा जुटईएको हो । विद्यालयलाई चन्दादाताहरु मार्फत थप सहयोग आउने क्रम जारी छ । नेपाल सरकारका विभिन्न निकायबाट रु १ करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न संघ संस्थाहरुबाट ९ लाख र विभिन्न देशमा रहेका भकिम्लीबासीहरुको नेतृत्वमा ६२ लाख बढी सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमबाट रु ३८ लाख सहयोग भित्र्याईएको थियो ।
पुरानो भवन जिर्ण भएको कारण गाउँका सबै सरोकारवाला र प्रवासीहरुमा बृहत छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधा सम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष पदम बहादुर पुनले बताउनुभयो ।
‘‘२०४५ सालमा बनाईएका साँघुरा भवनहरुमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाईमा विद्यालय पुननिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयबासी र प्रवासी भकिम्लीबासीले मन फुकाएर सहयोग गर्नुभयो, संघ संस्था र सरकारी तवरवाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेकोछ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ’’–वडा अध्यक्ष पुनले भन्नुभयो ।
यो विद्यालय भवन पुनिर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीबासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन् । वि.स. २०१६ साल पौष १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ ।
वि.स. २०१७ सालमा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आईपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतिलाई सामाना गर्दै अघि बढेको देखिन्छ । तत्कालिन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।
वि.स. २०२८ सालमा प्राविबाट निमावि तहमा स्तरउन्नती भएको यो विद्यालयमा वि.स. २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरबृद्धि गरिएको थियो ।