पूर्वाधार विकास कार्यालय म्याग्दीमा जनशक्ति अभाव

ठाकुरप्रसाद आचार्य \बेनी
असोज १६ गते ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा योजना कार्यान्वयनमा समस्या आएको छ । गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा पुराना तथा चालु आर्थिक वर्षमा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको हो ।

कार्यालयमा ११ जना प्राविधिक जनशक्तिको दरबन्दी भएकोमा हाल कार्यालय प्रमुख सहित ३ जना मात्र कार्यरत छन् । प्रदेश सरकारले करारमा कार्यरत कर्मचारीहरुको म्याद नथपेका कारण कार्यालयमा जनशक्ति अभाव भएको कार्यालय प्रमुख इन्जिनियर विष्णु पौडेलले बताउनुभयो ।

दुईजना सव इन्जिनियरको भरमा योजना कार्यान्वनय गर्न समस्या भएको उहाँले बताउनुभयो । अहिलेकै जनशक्तिबाट योजना कार्यान्वयन सम्भव छैन उहाँले भन्नुभयो, ‘‘विकास योजनाहरु समयमै कार्यान्वयनमा लैजान आवश्यक जनशक्ति छिटो परिपूर्ती हुनुपर्दछ । यसवारेमा प्रदेश मन्त्रालयलाई जानकारी गराएका छौं ।’’
उहाँका अनुसार तिनजना इन्जिनियर,४ जना सव इन्जिनियर र एकजना ल्याब असिस्टेन्टको रिक्त रहेको छ । लोकसेवाबाट पदपूर्ती नहुँदा सम्मका लागि दैनिक ज्यालादारीमा जनशक्ति भर्ना गरेर व्यवस्थापन गर्ने विकल्पका वारेमा कार्यालयको सोच रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा विनियोजन भएका नयाँ तथा पुराना गरेर ६३ वटा सडक योजना, १२ वटा मोटरेबल पुल र ५ वटा झोलुङ्गे पुल गरी ८० वटा योजनाहरु रहेका छन् । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, ‘‘जिल्लामा आएका योजना कार्यान्वयन गर्न हामीसँग जनशक्ति अभाव छ । अहिलेकै जनशक्तिका भरमा योजना छिटो र समयमा सम्पन्न गर्न कठिनाई छ । चाँढै जनशक्ति व्यवस्थापन गर्नका लागि प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा अनुरोध गरेका छौं ।’’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।