एमाले गण्डकी अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/पोखरा
असोज १४ गते ।

 नेकपा एमाले  गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका एघार जिल्लाबाट नौसय सात प्रतिनिधि छनोट भएका छन् । एमाले गण्डकीले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिएको हो । भोलिदेखि सुरु हुने अधिवेशन एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

#Adv

एमाले गण्डकी इन्चार्ज विष्टले कास्कीबाट सबैभन्दा धेरै एकसय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले आन्तरिक जनवादको अभ्यास गर्दै यथाशक्य सहमतिबाट नेतृत्व चयन गर्ने र त्यो सम्भव नभए लोकतान्त्रिक अभ्यास हुने जानकारी दिनुभयो ।

इन्चार्ज विष्टले भन्नुभयो, “हामी यथाशक्य सहमतिमै नेतृत्व चुन्छौँ । कथम्कदाचित त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चुनिन्छ । प्यानल बनाएर चुनाव लड्ने अवस्था आउँदैन र त्यस्तो छुट पनि हुनेछैन ।” हजारौँ कार्यकर्ता भएको पार्टीमा आकाङ्क्षीको सङ्ख्या धेरै हुनु स्वाभाविक भएको उहाँको टिप्पणी छ ।

एमाले गण्डकीमा अध्यक्षका लागि अहिलेसम्म ६ जनाले आकाङ्क्षा सार्वजनिक गर्नुभएको छ । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले अहिले चारसय ४९ सदस्यीय कमिटी रहेको र अधिवेशनले एक सय ६५ सदस्यीय कमिटी चुन्ने जानकारी दिनुभयो ।

१६ गते बेलुकाबाट निर्वाचन प्रक्रिया थाल्ने र सम्भवतः १७ गते बेलुकासम्म नयाँ नेतृत्व चुनिने उहाँको भनाइ छ । कास्कीको रुपा गाउँपालिका बाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकीले जनाएको छ । एमाले गण्डकीले प्रदेश अधिवेशनको तयारी सकिएको जनाएको छ । गोरखापत्र अनलाइनबाट