विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने विमवासीको माग

विकल्प न्यूज/बेनी
असोज ७ गते ।


म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो ।

सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबाट सम्पादित काम तथा कार्यक्रम र योजनाहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रतिवेदनअनुसार गत आवमा जन्मदर्ता, विवाह, मृत्यु, बसाइँसराइ, विभिन्न सिफारिसलगायत गरी कुल ५ सय ९० वटा सिफारिसहरु गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ADV

यसैगरी गत आवमै वडामार्फत विभिन्न टोल र वस्तीमा कुल ५१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरी विकास निर्माण, विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरिएको वडा सचिव पुनले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी वडावासीहरुले वडास्तरमा हुने विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले सडक विस्तार भए पनि पूर्णता नभएको, खेलकुदको बजेट क्लबले नपाएको, वडास्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन नसकेको, शिक्षा र स्वास्थ्यलाई ध्यान नदिइएको जस्ता गुनासाहरु गरेका थिए ।

यसैगरी गाउँको ढल व्यवस्थापन योजना अलपत्र परेको, सडक विस्तार भएको ठाउँमा संरक्षण नगरिएको, प्राविधिकको काम फरक परेको, योजनाको अनुगमन नभएको, सिँचाइको लागि पाइपको अभाव भएको, सबै ठाउँमा इन्टरनेटको सुविधा नपु¥याइएको, स्वीटर बुन्ने मेसिन अलपत्र परेको, अनुदानका कार्यक्रमबाट सहयोग नपाइएको गुनासो सहभागीहरुले सुनाएका थिए ।

सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पालिकामार्फत वडास्तरमा सञ्चालन हुने विकास निर्माणको कामलाई प्रभावकारी बनाउन जोड दिइएको बताउनुभयो । उहाँले विमको विकास गर्नका लागि विगतदेखि नै वडा, पालिका, प्रदेश र संघ सरकारमार्फत झोलुङ्गे पुल निर्माण, सडक विस्तारलगायत योजनाहरुमा उच्च प्राथमिकता दिएर काम गरिएको जानकारी दिनुभयो । विकास निर्माणको कामलाई प्रभावकारी बनाउन नागरिकस्तरबाट पनि अनुगमन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

विमका वडा अध्यक्ष टकबहादुर पुनले वडाको सबै टोल र वस्तीमा योजनाहरुको पूर्ण कार्यान्वयन गर्नका लागि वडाका जनप्रतिनिधिहरुले टोल विभाजन गरेर काम गरिएको बताउनुभयो । उहाँले वडामार्फत शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सिँचाइलगायत योजनाहरुलाई प्राथमिकता दिएको बताउँदै वडाको आवश्यकता र स्थानीयको जनचाहनाअनुसार काम गर्ने गरिएको बताउनुभयो । कार्यक्रममा मालिका गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दिपक सापकोटाले पनि सहभागीले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस विमका प्रतिनिधि देव पुन, नेकपा एमालेका रैकप्रसाद जुग्जाली, माओवादी केन्द्रका टुकमान जुग्जाली र हिमाली युवा क्लब अध्यक्ष लोककुमार पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष पुनको अध्यक्षता, वडा सदस्य तिलकबहादुर जुग्जालीको स्वागत र किसानी माविका शिक्षक सुमन गर्बुजाले सञ्चालन गरेको कार्यक्रमको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल र प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।