ताजा समाचार:
Search

सुन्दर पर्यटकीय गन्तब्य मंगलाको झाँक्रीपानी

विकल्प न्यूज\बेनी
भदौ १८ गते ।

तस्विर \ किरण कार्की

आँखै अगाडि देखिने हिमश्रृङ्खला,वरीपरी हरियाली डाँडापाखा र सुन्दर ग्रामिण वस्ती अनि मौलिक कला,संस्कृतिले यहाँ पुग्ने पर्यटकको मन लोभ्याउने गर्दछ । बेनीबाट नजिक रहेको मंगला गाउँपालिका ३ वंरजाको झाँक्रीपानी सुन्दर पर्यटकीय गन्तब्य हो । प्रचार प्रसार नहुँदा आशा गरिएअनुसार पर्यटक पुग्न सकेका छैनन् ।

समुन्द्री सतह देखि दुईहजार दुईसय ८० मिटरको उचाईमा रहेको झाँक्रीपानीबाट धवलागिरि,चुरेन,गुर्जा,मानापाथी,अन्नपूर्ण,निलगिरी र माछापुच्छ«े लगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै मगर जातिको मौलिक कला,संस्कृति र भेषभूषा यहाँको पहिचान हो ।
पर्यटकको सुविधाका लागि यहाँका स्थानीयहरुले १५ घरमा होमस्टे संचालन गरेका छन् । स्थानीय अर्गानिक खाना र न्यानो स्वागत सत्कारले यहाँ पुग्ने पर्यटक खुसी भएर फर्किने गर्दछन् । मगर समुदायको बसोबास रहेको झाँक्रीपानीमा ५० घर परिवारको बसोबास छ । झाँक्रीपानीलाई पर्यटकीय गन्तब्यका रुपमा चिनाउन गाउँपालिकाले प्रयास थालेको वडाध्यक्ष यामबहादुर रोकाले बताउनुभयो । राम्रो पर्यटकीय सम्भावना भएरपनि प्रचारप्रसारको कमिले ओझेलमा परेको उहाँले बताउनुभयो ।

पछिल्ला केही वर्ष यता झाँक्रीपानीलाई गाउँपालिकाले पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पालिकाले होमस्टे प्रवद्र्धनका लागि स्थानीयलाई तालिम र आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।

झाँक्रीपानीमा पर्यटनमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘पर्यटनमैत्री पूर्वाधार निर्माणमा पालिकाले जोड दिएको छ । भ्यूटावर निर्माण गरिसकेका छौं । सडक स्तरोन्नति र स्थानीयलाई पर्यटनसँग जोड्ने खालका योजना बनाउँदै झाँक्रीपानीलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने लक्ष्य लिएका छौं ।’’ झाँक्रीपानी,चिनाकोट,गाम्फाधुरी र चाङ्गालाई जोडेर ग्रामिण पर्यटनको सक्रिट बनाउने पालिकाले योजना बनाएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको बजेटमा यसवर्ष झाँक्रीपानीमा पार्क बनाउन थालिएको उहाँले बताउनुभयो । चिया खेतीका लागि पालिकाले अध्ययन गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । झाँक्रीपानी क्षेत्रमा चिनाकोट दरबार पनि पर्यटकीय गन्तब्य हो । झाँक्रीपानी हुँदै बागलुङ र म्याग्दीको सीमानामा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाम्फाधुरी र चाङ्गा जान सकिन्छ ।