विकल्प न्यूज/बेनी
भदौ,७ गते ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आफ्नै भवनबाट कार्यालय संचालनमा ल्याएको छ । लामो समय देखि निजी घरमा कोठा भाडामा लिएर कार्यालय संचालन गर्दै आएको महासंघले भदौ १ गते देखि बेनीको विरेन्द्रचोक स्थित साविक खाद्यय संस्थानको भवनलाई मर्मत सम्भार गरेर कार्यालय संचालनमा ल्याएको हो ।
बेनी नगरपालिकाको नाममा रहेको साविक खाद्यय संस्थानको ४ आना जग्गा सहित पुरानो भवन पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय व्यवस्थापनका लागि नगरले भाडामा उपलब्ध गराएको हो ।
पुरानो भवनलाई मर्मत सम्भार गरेर महासंघले कार्यालय संचालन गरेको पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार वर्ष अघि बेनी नगरले आवश्यक भौतिक संरचना निर्माण गरी कार्यालय संचालनका लागि महासंघलाई उक्त जग्गा दश वर्षलाई भाडामा उपलब्ध गराएको थियो ।
बेनी नगरपालिकाले महासंघलाई उपलब्ध गराएको पुरानो भवन सहित १४१९ नम्बरको ४ आना जग्गा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगत ७ वर्षदेखि आफ्ना कार्यकर्ता बसालेको थियो ।
ADV
बेनी नगरपालिकाले पत्रकार महासंघलाई कार्यालय संचालन गर्नका लागि बेनी नगरले उपलब्ध गराएको जग्गा सहितको पुरानो एकतल्ले भवन विगतमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता बस्दै आउनुभएको थियो, अध्यक्ष पौडेलले भन्नुभयो, ‘उक्त पार्टीका महासचिव नेत्र विक्रम चन्दा सँग हामीले बार्ता र छलफल ग¥यौं,उहाँले पत्रकार महासंघलाई भवन उपयोग गर्न नरोक्न स्थानीय कमिटीलाई निर्देशन दिएपछि भवनको मर्मत सम्भार गरेर कार्यालय सारेका छौ ।’ कार्यालय राख्न सहजीकरण र सहयोग गर्नुहुने सो पार्टीका केन्द्र देखि जिल्ला तह सम्मका नेताहरुलाई उहाँले धन्यबाद समेत दिनुभएको छ ।
ढुंगाले छाइएको एकतल्ले भवनको मर्मत सम्भार गर्न करिब पाँचलाख रुपियाँ खर्च भएको महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष अमित विश्वकर्माले बताउनुभयो ।
करिब १५ वर्ष अघि तत्कालिन खाद्यय संस्थानको जग्गा बेनी नगरपालिका २ खबरका प्रदिप सापकोटाले खरिद गर्नुभएको थियो । सापकोटाले खरिद गरेको उक्त जग्गा जिल्ला स्थित राजनीतिक दलहरुले सार्वजनिक हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरेका थिए ।
आन्दोलनका कारण सापकोटाले आफ्नो जग्गा मध्यबाट ४ आना जग्ग्गा नगरपालिकालाई २०७३ मा पास गरेर दिनुभएको थियो । उक्त जग्गा २०७६ मंसिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालय व्यवस्थापन गर्न दिने निर्णय गरेको थियो ।