ओभरटेक गर्ने क्रममा त्रिशूलीमा बस खसेको प्रहरी अनुमान

विकल्प न्यूज/बेनी
भदौं,६ गते ।

काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ ।  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा खस्न गएको प्रहरीले अनुमान गरेको छ ।    प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर त्रिशूलीमा खसेको अनुमान गरिएको छ ।

“बस खसेको ठाउँ साँघुरो छ, ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने हामीले अनुमान गरेका छौँ,” एसपी मिश्रले भने, “काठमाडौंबाट आएको बस बायाँ (भित्तातर्फ)बाट हुँदै आउने भए पनि ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दायाँ (छेउ)तर्फ त्रिशूलीमा खसेको हुनसक्छ ।”

नदीबाट २३ जनाको उद्धार गरिएकोमा आठजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  बाँकी १५ जनाको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए ।

नदीको बहाव बढेका कारण केहीलाई बगाएको हुनसक्ने अनुमान गरिएको भए पनि सम्भावना कम देखिएको प्रहरीले जानकारी गराएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि सो क्षेत्रमा खोजी गरिरहेको छ ।