ताजा समाचार:
Search

बैंसरीमा पहिरो हटाएपछि बेनी–जोमसोम सडक खुल्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ३१ गते ।

कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक ११ दिनपछि खुलेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडाको सीमानामा पर्ने बैंसरी खण्डमा पहिरो पन्छाएपछि बुधवार विहान देखि यातायात संचालनमा आएको हो ।

बैंसरीको अधेरीखोलाबाट खसेको पहिरोका कारण ११ दिनदेखि यातायात अवरुद्ध हुँदै आएको थियो । सडक संचालनमा आएसँगै रोकिएर बसेका सवारीसाधनहरु गन्तव्य तर्फ लागेको बेनी –जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
पहिरो रोकथामका लागि बेनी–जोमसोम कोरला सडक आयोजनाले पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम थाले सँगै पहिरो झर्न छाडेपछि सडकमा जम्मा भएको पहिरोलाई हटाएर यातायात संचालनमा ल्याइएको आयोजनाका सुपरभाईजर शेरचनले बताउनुभयो ।
आयोजनाले डोजर र जनशक्ति प्रयोग गरेर सडक माथिको कमजोर पाखोलाई पानी सँगै बगाएर पहिरो रोकथामको काम गरिएको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । सडक माथिबाट पहिरो सँगै खसेको ढुंगाले यो खण्डमा जोखिम बढाएको छ भने केही दिनयता यातायात प्रभावित हुँदै आएको छ ।

उहाँले भन्नुभयो, ‘‘सडक माथिबाट खस्ने पहिरो रोकथामका लागि हामीले नयाँ अभ्यास थालेका छौं । सडक देखि माथि खस्नका लागि तयार भएर बसेको जमिनलाई पानी सँगै बगाएर सफा गर्ने गरेका छौं ।’’

यो विधि रुप्से खण्डमा पनि प्रयोग गरेर पहिरो रोकथामको काम गरेकाले गत वर्ष जस्तो जोखिम नभएको उहाँले बताउनुभयो । आयोजना प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘सडक माथिबाट बग्ने जति जमिनलाई बगाएर खसालेपछि पहिरो रोकथाम हुन्छ ।

यस्तो खालको पहिरो रोकथामको विधि नै यही हो ।’’ केही मात्रमा पहिरो रोकथाम भएसँगै सडकमा जम्मा भएर बसेको ढुंगा,माटोलाई हटाएर यातायात संचालनमा ल्याइएको उहाँले बताउनुभयो । पूर्ण रुपमा पहिरो रोकथाम भइसकेको छैन उहाँले भन्नुभयो, ‘‘वर्षा रोकिएकाले पहिरो खस्न छाडेको छ । अहिलेलाई सडक खुलाएका छौं ।’’

खस्न तयार भएर बसेको पुरै जमिनलाई खसालेर सकेपछि पहिरो रोकथाम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बैंसरीमा सडक माथिबाट पहिरो खसेपछि साउन २१ गते देखि सडक अवरुद्ध हुँदा म्याग्दीको उत्तरी भेग र मुस्ताङका वासिन्दा साथै पर्यटकहरु आवतजावतमा समस्या भएको थियो । बैंसरीमा पहिरो दिर्घकालिन रुपमा पहिरोको रोकथामा लागि थप अनुसन्धान पनि भइरहेको आयोजनाले जनाएको छ ।

बैंसरी देखि माथिको खण्डमा खसेको पहिरोलाई पनि सफा गरिएको आयोजनाले जनाएको छ । बेनी देखि जोमसोम सम्मनै सिधा यातायात संचालनमा आएको छ । जोमसोम देखि कोरला सडक खण्ड भने अवरुद्ध भएको छ ।