साउन महिनामा गलेश्वरमा नौ लाख बढी भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ३० गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा करिब असी हजार भक्तजनले पुजाआजा र दर्शन गरेका छन् भने नौलाख भन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको पाँचवटा सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुले चढाएको दान,भेटी र सहयोग रकम गरी करिब साढे नौलाख रुपियाँ भेटी संकलन भएको हो ।

यो वर्षको साउन महिनामा मलमास परेको र अन्तिम सोमबारका दिन निरन्तरको वर्षाका साथै बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा गत वर्ष भन्दा यसपाली भक्तजनहरु घटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

पहिलो सोमबार मात्रै २५ हजार भक्तजनले शिवालय मन्दिरको दर्शन गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार चौथो सोमबार सम्म आइपुग्दा ६० हजार भक्तजनले गलेश्वरको दर्शन गरे ।

अन्तिम सोमबार करिब २० हजार भक्तजनले गलेश्वर शिवालयको दर्शन गरेको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । सोमबारका दिन संकलन भएको भेटी भोलिपल्टको प्रत्येक मंगलबार गनेर सार्वजनिक गर्ने प्रचलन छ ।

कोषका अनुसार साउन १ गते परेको पहिलो सोमबार तीन लाख ६५ हजार चारसय ४५, साउन ८ गतेको दोस्रो सोमबार ९६ हजार एकसय ४१, १५ गतेको तेस्रो सोमबार एक लाख ४१ हजार नौसय ५६,२२ गतेको चौथो सोमबार एकलाख ४४ हजार सातसय ९१ र अन्तिम सोमबार एकलाख ७८ हजार चारसय ९० रुपियाँ गरी जम्मा नौलाख २७ हजार २३ रपियाँ भेटी संकलन भएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा गनेर सार्वजनिक गरिएको बानियाँले बताउनुभयो ।
पुजा र दर्शनलाई व्यवस्थित र सहज बनाउन हरेक सोमबारको विहानै देखि सुरक्षाकर्मी र स्वयसेवकहरु परिचालन गरिएको थियो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरमा पछिल्लो समय भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने गरेका छन् । साउनको सोमबार काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजनहरु मन्दिरको दर्शन गर्न आउने गरेको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

कालिगण्डकी नदी किनारमा रहेको नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर पूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ जाने भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन् ।