ठाकुरप्रसाद आचार्य\बेनी
साउन २९ गते ।
म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा साउन महिनामा मात्रै ८० हजार भक्तजनले दर्शन गरेका छन् । साउन महिनामा पाँचवटा सोमबार परेकाले गलेश्वर शिवालय मन्दिरको दर्शन र पुजाआजा गर्ने भक्तजनहरु सो संख्यामा आएका हुन ।
साउनको पहिलो सोमबार र अन्तिम सोमबार दर्शन गर्ने भक्तजनको मन्दिरमा भिड लागेको थियो । साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि म्याग्दीका साथै पर्वत,बागलुङ,मुस्ताङ चितवन, काठमाडौँ, पोखरा, नवलपरासी,लगायतका ठाउँबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
पहिलो सोमबार मात्रै २५ हजार भक्तजनले शिवालय मन्दिरको दर्शन गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार चौथो सोमबार सम्म आइपुग्दा ६० हजार भक्तजन गलेश्वरको दर्शन गर्न आएका छन् । अन्तिम सोमबार करिब २० हजार भक्तजन गलेश्वरको दर्शनका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
यो वर्ष साउन महिनामा मलमास परेको हल्ला र अन्तिम सोमबार वर्षाका कारण राष्ट्रिय राजमार्ग र ग्रामिण सडकहरु अवरुद्ध भएकाले अपेक्षा गरे अनुसार भक्तजन नआएको उहाँले बताउनुभयो । पुजा र दर्शनलाई व्यवस्थित र सहज बनाउन सोमबारको विहानै देखि सुरक्षाकर्मी र स्वयसेवकहरु परिचालन गरिएको छ । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरमा पछिल्लो समय भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने गरेका छन् । काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट उल्लेख्य मात्रामा भक्तजनहरु मन्दिरको दर्शन गर्न आउने गरेको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।