मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

 विकल्प न्यूज/बेनी
साउन २३ गते ।

 म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

गत वर्ष रु. ५८ करोड १८ लाख ४४ हजार ६७७ बिनियोजन भएकोमा रु. ४१ करोड ६१ लख ७० हजार ९१७ अथवा ७१.५२ प्रतिशत बजेट खर्च भएको छ । गत वर्ष रु. ५१ लख ७४ हजार आन्तरिक आम्दानी गरेको गाउँपालिकाको संचित कोषमा रु. पाँच करोड ३३ लाख ७९ हजार ८८० रहेको छ ।

उपभोक्ता समिति मार्फत १५२ वटा, अमानतबाट २१ वटा, विद्यालय व्यवस्थापन समितिबाट छ वटा र आठ वटा योजना ठेक्का मार्फत कार्यान्वयन गरेको मालिका गाउँपालिकाले योजना सम्बन्धी सफ्टवयर प्रयोगमा ल्याउने तयारी गरेको छ । आठ वटा कार्यविधि, नियमावली, मापदण्ड तथा पाँच वटा ऐन बनाएको मालिकाले दरवाङमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिदको प्रक्रीया अघि बढाएको छ । ५९ वटा व्यवसाय दर्ता, १८२ वटा नविकरण र ९ वटा बन्द भएका छन् ।

मनसुन विपद्बाट क्षतिग्रस्त ११४ घरधुरीको सर्वेक्षण, सुरक्षित नागरिक आवास कार्यक्रमका ५८ जना लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानी गरेको छ । चार वटा झोलुङ्गे पुल निर्माण भएको र नेवा परियोजना मार्फत चालु आर्थिक वर्षमा ६ वटा खानेपानी आयोजना कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ ।

जन्म, मृत्यु, बिवाह, बसाईसराई र सम्बन्ध बिच्छेद सम्बन्धी एक हजार २०७ वटा व्यक्तिगत घटना दर्ता, तीन हजार ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भएका १८ जना स्थायी शिक्षकहरुको पदस्थापना र ११ वटा शिक्षक अनुदान कोटा वितरण गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २ वटा २ कोठे, २ वटा चार कोटे, २ वटा आइसिटि कार्यक्रम सम्झौता भएकोमा २ वटा योजना सम्पन्न भएको छ । ७६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालयहरुमा सात थान डेक्सटप कम्प्युटर र १४ थान प्रिन्टर वितरण गरिएको छ ।

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको, १९६ जनाले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसुति सेवा लिएका छन् भने १८ जनाले घरमै बच्चा जन्माएका छन् । गर्भवतिहरुलाई वडा स्तरमा पुगेर भिडियो एक्सरे सेवा दिइएको छ ।

पशु विकास शाखाले १, २, ६ र ७ नम्बर वडामा ५० प्रतिशत अनुदानमा ४० वटा माउ बाख्रा वितरण र ४ वटा प्रजनन् योग्य बोका वितरणका साथै लम्पी स्किन रोग विरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

२५० रोपनीमा आलुको पकेट कार्यक्रम सञ्चालन गरि ७० प्रतिशत अनुदानमा आलु विउ वितरण गरेको, २९२ रोपनीमा सुन्तला र ८४ रोपनीमा किवी खेती विस्तार गरेको मालिका गाउँपालिकाको वडा नम्बर ३ किटिनीमा चार हजार ८०० चियाका बिरुवा रोपिएको छ ।

९२ जना नयाँ उद्यमी सिर्जना र ४७ जना उद्यमीको स्तरोन्नतिका साथै पात्लेमा साझा सुविधा केन्द्रको भवन निर्माण र ५ वर्ष उद्यम विकास रणनीतिक योजना तयार भएको छ । २५ जनालाई अपांगता परिचयपत्र वितरण, (ग) वर्गका अपाङ्ग भएकाहरुको निशूल्क स्वास्थ्य बिमा गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले ७ वटा वडा र १ वटा पालिका स्तरीय आमा समूहको शसक्तिकरण कार्यक्रम गरेको छ ।

८९ जना बेरोजगार परिचालन गरेर १४ वटा योजना निर्माण गर्दा ज्याला वापत रु. ५१ लाख ५५ हजार ७५१ खर्च भएको, पालिकाबाट श्रम स्विकृति दिन शुरु भएको र ९२९ जना बेरोजगार सुचिकृत गरिएको प्रशासीकय अधिकृत कार्कीले जानकारी गराउनुभयो ।

सार्वजनिक भएको प्रतिवेदन र गाउँपालिकाको सेवा प्रवाहको विषयमा स्थानीयबासीहरुले गुनासो, सुझाव र प्रश्न गर्नुभएको थियो । सन्तोष सुवेदीले लम्पी स्किन नियन्त्रण गर्न र कृषि उपजको बजारीकरणमा ध्यान दिन तथा दरवाङमा क्याम्पस सञ्चालन गर्ने योजना अघि सार्न सुझाव दिनुभयो ।

दुखुलेकका ओमकार रोकाले विपद्को जोखिम न्युनीकरणका लागि पिडितलाई सयममै सामग्री सहयोग नभएको, विद्युतीकरणमा ढिलाई र आलुले बजार नपाएको गुनासो गर्नुभयो । अमृत सापकोटाले दरवाङ बजारको घट्दो ब्यापारलाई चलायमान बनाउन पर्यटक भित्र्याउन पहल गर्न आग्रह गर्नुभयो ।

तुलनारायण बुढामगरले दरवाङ–फुलबारी सडक स्तरोन्नति हुन नसकेको गुनासो गर्नुभयो । मेघराज शर्माले सहकारीमा शुसासन कायम गर्न गाउँपालिकाले पहल गर्नुपर्ने बताउनुभयो । लेकबहादुर पुनले एउटै व्यवसाय फरक फरक निकायमा दर्ता हुनुपर्दा झञ्जट र दुख भएको बताउनुभयो । तिलक ढकालले टाक्सेको सडकमा लगानी अनुसारको उपलब्धी नभएको र नदीजन्य पदार्थको ठेक्का लिएकाले नतिरेको बेरुजु राजस्व उठाउन ध्यानाकर्षण गराउनुभयो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहभागिहरुले गरेका प्रश्नको जवाफ दिदै नदीजन्य बस्तुको चोरी निकासी हुन नदिने, दरवाङ बजारलाई चलायमान बनाउन आधारभूत अस्पताल सञ्चालन गर्न लागेको, उत्पादीत कृषि उपजको बजारीकरण गर्न व्यवसायीसँग समन्वय गर्ने बताउनुभयो ।
दरवाङ बजारमा नाली निर्माण र सडकलाई पक्कि बनाउने कामलाई प्रदेश सरकार मार्फत चालु आर्थिक वर्षमा पूर्णता दिने बताउदै बजारभित्र सडक विस्तारका क्रममा सहयोग गर्न अपिल गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुनमगरले ठेक्काका योजनामा ढिलासुस्ति भएपनि उपभोेक्ता समिति मार्फत सञ्चालित योजनाहरु समयमै कार्यान्वयन भएको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, सचिव सन्तोष गौतम र सहसचिव साधन राम्जाली मगरले गर्नुभएको थियो ।