म्याग्दीमा साढे १६ किलोमिटर सडक कालोपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १९ गते ।


म्याग्दीमा एक वर्षको अवधिमा साढे १६ किलोमिटर ग्रामिण सडक कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०७९ \८० मा पूर्वाधार विकास कार्यालय,स्थानीय तह र सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीले गरेर जिल्लाभर १६ क्रिलोमिटर पाँचसय ३० मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि दुर्घटनाको जोखिम न्यूनिकरण हुनुका साथै सवारी साधन आवतजावतमा सहज भएको छ ।
जिल्लामा वर्षौदेखि ट्र्याक खुलेका मुख्य सडकहरुनै अधिकांश कच्ची छन् । सडक कालोपत्रका लागि प्रदेश र संघ सरकारले अत्यन्त न्यून बजेट विनियोजन गर्ने भएकाले जिल्लावासीको अपेक्षा अनुसार सडक कालोपत्र हुन सकेका छैन । सडक स्तरोन्नति सहित कालोपत्र योजनामा प्रयाप्त मात्रामा बजेट नहुँदा सदरमुकाम बेनी देखि ग्रामिणभेग जोड्ने मुख्य सडकहरु खच्ची छन् ।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत संचालित योजना मार्फत ८ किलोमिटर सातसय मिटर सडक कालोपत्र र विभिन्न योजनामा गरेर करिब ७ सय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

यसैगरी बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा छ सय ७० मिटर सडक कालोपत्र र नगरपालिकाका विभिन्न स्थानहरुमा गरेर दुई किलोमिटर ३७ मिटर सडक ढलान गरेको बेनी नगरपालिकाका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्थुङ्गे पुलाचौर सडक खण्डमा तिनसय ३० मिटर र सिंगा तातोपानीको तल्लो बजारमा तिनसय चालिस मिटर सडक कालोपत्र भएको छ । मंगला गाउँपालिकाले सिम–कुहुँ –टोड्के सडक अन्तर्गत छ सय साठी मिटर सडक कालोपत्र गरेको छ ।

अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय स्थल घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पाँचवर्ष अगाडी ठेक्का लगाएकोमा प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको उक्त योजनामा गत वर्ष साढे छ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
पूर्वाधार विकास कार्यालय मार्फत बेनी–बागलुङ सडक खण्डमा ४ किलोमिटर सडक कालोपत्र छ । यसैगरी गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमूना सडक योजना अन्र्तगत पिप्ले – भगवति सडक खण्डमा चार किलोमिटर पाँचसय मिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय मार्फत नै बेनी नगरपालिका वडा नम्बर ६ स्थित अर्थुङ्गेमा दुईसय मिटर सडक कालोपत्र गरिएको छ ।

जिल्लाका तिन गाउँपालिका मंगला,मालिका र धवलागिरिलाई सदरमुकामसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी दरबाङ सडक कालोपत्रका लागि सिम – रणबाङ सडक स्तरोन्नति योजनामा ७५ प्रतिशत र रणबाङ–दरबाङ सडक खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । यी दुवै खण्डमा चालु आर्थिक वर्ष भित्रै सडक कालोपत्र गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अधिकारीले बताउनुभयो ।

अघिल्लो वर्ष बेनी देखि मंगला गाउँपालिका २ सिमसम्म १२ किलोमिटर पाँचसय ८५ मिटर दुरीको सडक कालोपत्र भइसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाभर १९ किलोमिटर सडक कालोपत्र भएको थियो ।