गलेश्वरमा थपिँदै ठूला होटल

विकल्प न्यूज\बेनी
साउन १८ गते ।


म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालिगण्डकी करिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रुपमा विकास हुँदै जान थालेको छ ।

मुस्ताङको प्रवेशद्धारका रुपमा समेत परिचित गलेश्वर धाम दर्शनका लागि पछिल्ला केही वर्ष यता भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि हुँदै जान थालेको छ । बेनी बजार देखि नजिक र शान्त वातावरण भएकाले बास बस्नका लागि गलेश्वर पर्यटकको रोजाईमा पर्न थालेको छ । सुविधा सम्पन्न होटलको संख्या कम भएकाले पर्यटकहरु अहिले गलेश्वरमा वास वस्दैनन् ।

यहाँ अहिले होटल प्याराडायज,होटल ताज महल र होटल रिभरसाइड संचालनमा छन् । दुईवर्ष अघि होटल ताजमहल खुलेको हो । पर्यटकको संख्यामा वृद्धि हुनथालेपछि नयाँ होटल खुल्ने क्रम बढेको होटल प्याराडाइजका संचालक पदम छन्त्यालले बताउनुभयो । पर्यटकीय सिजनमा होटलको अभाव हुने गरेको उहाँले बताउनुभयो ।

बिस वर्ष देखि बेनीबजारमा होटल व्यवसाय संचालन गर्दै आउनुभएका होटल याकका संचालक बावुराम आचार्यले गलेश्वर क्षेत्रमा दुईरोपनी क्षेत्रफलमा करिब १४ करोड लागनीमा सुविधा सम्पन्न नयाँ होटल निर्माण गर्दै हुनुहुन्छ । होटलमा सुविधा सम्पन्न ४० वटा कोठा हुने उहाँले बताउनुभयो ।

भविष्यमा गलेश्वर क्षेत्र धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुने संभावना देखेर नयाँ होटल निर्माणको योजना अगाडि सारेको हुँ होटल याकका संचालक आचार्यले भन्नुभयो, ‘‘गलेश्वर धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र भएको र पछिल्लो समय पर्यटक आगमन वृद्धि भएसँगै होटलको आवश्यकता महशुस गरेर नयाँ होटल संचालनको तयारी गरेको छु ।’’ अहिले होटलको करिब ८० प्रतिशत निर्माण भइसकेको र आगमी दशैं तिहारको बीचमा संचालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

बेनी–जोमसोम –कोरला सडक स्तरोउन्नति भई पूर्णरुपमा संचालनमा आएपछि पर्यटकको संख्यामा अझै वृद्धि हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । पर्यटकको बसाईलाई आरमदायी बनाउन गलेश्वरमा सुविधा सम्पन्न होटलको खाँचो रहेको उहाँको भनाई छ । बेनी गलेश्वर सडक स्तरोउन्नति भएसँगै बेनीको कालिपुल बसपार्क देखि तीन मिनेटको दुरी भएकाले बेनी आएका पाहुना सजिलै गलेश्वरमा आउने उहाँले बताउनुभयो ।

शान्त वातावरण,धार्मिक क्षेत्र र कालिगण्डकी नदीको चिसो हावापानी सहित दृश्यवलोकनका लागि पनि उपयुक्त भएकाले नयाँ होटलका लागि गलेश्वर रोजेको उहाँको भनाई छ । होटलमा अपाङ्मैत्री कोठा,बाथरुम,शौचालय, एसी कोठा,डिलक्स सहित एकसय पचास जना अटन सक्ने क्षमताको सभाहल निर्माण हुने होटलका संचालक आचार्यले बताउनुभयो । होटलमा आर्थिक हिसाबले सवै किसिमका पाहुनालाई उपयुक्त हुने उहाँको भनाई छ ।