कालीगण्डकीमा जिप फालेर फरार चालक काठमाडौंमा पक्राउ

विकल्प न्यूज\बेनी
साउन १५ गते ।

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको महभीर–भीरकाटे खण्डबाट साउन १० गते कालीगण्डकीमा जिप खसेपछि फरार भएका चालक काठमाडौंमा भेटिएका छन् ।

ग २ च १०३१ नम्बरको बोलेरो जिप भीरबाट खसालेपछि बेपत्ता मालिका गाउँपालिका, ५ देवीस्थानका चालक कम्लेस परियार आइतबार काठमाडौंमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले पुष्टी गरेको छ ।

सदरमुकाम बेनीस्थित सुमन किराना स्टोर्सबाट खाद्यान्न र करिब १४ लाख रुपैयाँ नगद लिएर अन्नपूर्ण गाउँपालिका फर्कँदै गरेका चालक कम्लेस परियार बुधबार दिउँसो ४ बजेतिर भीरबाट जिप खसेपछि सम्पर्कविहीन भएका थिए ।

आइतबार बिहान काठमाडौंको एक होटल नजिकैको पसलबाट परियारले आफ्नी श्रीमतीलाई फोन गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । सोही कलको आधाारमा कलब्याक गर्दा पसलेले फोन गर्ने व्यक्तिको हुलिया र होटलको नाम बताएपछि प्रहरीले पछ्याउँदै उनलाई पक्राउ गरेको हो ।

‘कालीगण्डकी कोरीडोर अर्न्तगत बेनी–जोमसोम सडकको भीरकाटे खण्डबाट बेपत्ता भएका ग २ च १०३१ नम्बरको बोलेरो जिपका चालक कम्लेस परियार अहिले प्रहरी सम्पर्कमा छन् । भोलि मंगलबारसम्म बेनी ल्याई अनुसन्धान सुरु हुन्छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने, ‘सम्बन्धित व्यक्ति नआई र घटनाको अनुसन्धान जारी रहेकोले घटनाको थप विवरण भन्न सकिन्न ।’

बुधबारदेखि बेपत्ता चालक खोजी गर्दा बिहीबार बिहान जिपको अगाडिको ‘सुमन किराना स्टोर्स’ लेखेको सिसा, बिल तथा कागजातहरु अन्नपूर्ण गाउँपालिका ७ महभीर–भीरकाटेको बीचमा सडकदेखि तल कालीगण्डकी किनारामा फेला परेको थियो । जिप मालिक रहेका सुमन किराना स्टोर्सका सुमन श्रेष्ठका अनुसार चालक परियारले बुधबार दिउँसो ४ बजेतिर अन्नपूर्ण गापा, २ भुरुङ तातोपानीबाट नयाँ मोबाइलको सिम झिकेको सूचनाको आधारमा ‘मोबाइल ट्र्याक’ गर्दा पोखरा र पछि काठमाडौं पुगेको पत्ता लागेको थियो ।

बुधबार राति चालक परियारले घटनास्थलमा जिपको अगाडिको सिसा र लुकिङग्लास झिकेर सडकबाट तल कालीगण्डकी किनारमा फालेको, आफूले लगाएको टिसर्ट र सामानको बिलसहितका कागजात पनि खोला किनारमा फालेर जिप खोलामा फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जिप खोलामा फालेपछि उनी सामान बेचेर उठेको १४ लाख नगद बोकेर रातारात पर्वत सदरमुकाम कुश्मा पुगेका थिए । कुश्माबाट बेनीमा रहेकी श्रीमतीलाई बोलाएर बिहीबार कास्कीको नयाँपुलबाट घोडामा घान्द्रुक हुँदै टाडापानी, घान्द्रुक देउराली पुगेर फेरि उल्लेरी हुँदै वीरेठाँटी ओर्लेर पोखरा पुगेका थिए । त्यहाँबाट उनी काठमाडौं गएका थिए ।