बेनी, साउन ११ गते ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।
शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ । यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन् । करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेँडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ ।
विद्यार्थीको करेसाबारीको उत्पादन रहरलाग्दो छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरू स्वयमले प्रयोग गर्छन् भने गाउँमासमेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, बाली विज्ञान तर्फका विद्यार्थीले एक हजार किलोग्राम बढी आलु उत्पादन गरेर बिक्री गरिसकेका छन् । यसअघि उनीहरूले च्याउसमेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए । विद्यार्थीले चार रोपनी जग्गामा धान खेतीसमेत गरेका छन् ।
यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले कुखुरापालन गर्दै आएका छन् । ‘‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरू विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन्, व्यवहारिक शिक्षासँगै आम्दानी समेत गर्न सफल भएका छन्’’–शिक्षालयका प्रमुख कँडेलले भन्नुभयो । विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल एक सय ४२ जना अध्ययनरत छन् ।
यहाँ अध्ययन गरेका विद्यार्थी कृषि र पशु शाखातर्फ विभिन्न क्षेत्रमा रोजगारमासमेत आबद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसँग जोड्न सफल भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले जानकारी दिनुभयो । यस शिक्षालयले १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानतर्फ ४०/४० जना सिटमा भर्ना खुलाएको छ । रासस