ठाकुरप्रसाद आचार्य\बेनी
साउन ९ गते ।
डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीनवटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०७९\८० मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरुलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो ।
सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरुमा आधार मानेर तीनसय १४ सामुदायिक वन उपभोक्ता समिति मध्य मूल्याङ्कनका आधारमा तीनवटा उपभोक्ता समितिलाई उत्कृष्ट सामुदायिक वनका रुपमा पुरस्कृत गरिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।
श्रीकृष्ण तालबन्दी रामुदायिक वन उपभोक्ता समिति रघुगंगा गाउँपालिका ८ लाई प्रथम,औल सामुदायिक वन उपभोक्ता समिति अन्नपूर्ण ७ लाई द्धितीय र छेरपातल सामुदायिक वन उपभोक्ता समिति धवलागिरि गाउँपालिका ३ लाई तृतीय पुरस्कारबाट सम्मान गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले प्रथम,द्धितीय र तृतीयलाई क्रमशः दशहजार,सातहजार र पाँचहजार नगद सहित प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
साथै पत्रकारिताको माध्यमबाट वन तथा वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार घनश्याम खड्का र वन कार्यालयका कर्मचारी दिपक शेरचनलाई प्रशंसापत्र सहित दोसल्लाले सम्मान गरिएको छ ।
कार्यक्रममा जिसस प्रमुख थापा र प्रजिअ पौडेलले वन संरक्षण अभियानमा उपभोक्ता समितिहरुको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई पुरस्कारले सम्मान गर्ने कार्यले उपभोक्ता समितिलाई वन संरक्षण कार्यमा थप हौसला मिल्ने बताउनुभयो ।