ताजा समाचार:
Search

बाख्रा चराउँदै माओवादीका पूर्वकमाण्डर गमबहादुर श्रीसमगर

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), साउन ९ गते । 

 गमबहादुर श्रीसमगर एक दशकअघिसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका कमान्डरका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो।

द्वन्द्व सकिएपछि मगरलाई म्याग्दीवासीले आगामी नेताका रूपमा लिने गर्थे तर अहिले उहाँको परिचय फेरिएको छ। उहाँ अहिले जिल्लामै नमुना कृषकका रूपमा परिचित हुनुहुन्छ। सक्रिय राजनीति छाडेर उहाँ कृषि पेसामा लाग्नुभएको हो। श्रीसमगरले कृषि पेसामा गरेको परिश्रम र लगावले स्थानीय पनि दङ्ग छन्।

जिल्लाको मङ्गला गाउँपालिका–३, वरन्जाका श्रीस मगर २०७० सालसम्म पार्टीको पूर्णकालीन कार्यकर्ताका भएर राजनीतिमा सक्रिय हुनुभयो। लोकतन्त्र प्राप्तिपछिको अन्तरिम संसद्को सांसद र पहिलो संविधान सभामा समानुपातिकतर्फबाट मगर सदस्य बन्नुभयो। अहिले पूर्णकालीन राजनीति छाडेर उहाँले जन्मस्थल वरन्जामा व्यावसायिक रूपमा बाख्रपालन व्यवसाय थाल्नुभएको छ। उहाँको खोरमा अहिले स्थानीय खरी जातका माउ बाख्रा, बोका र पाठापाठी गरी ३० वटा बाख्रा छन्। उहाँले आधुनिक र व्यवस्थित खोर निर्माण गर्नुभएको छ। खाली जमिनमा बाख्रालाई आवश्यक पर्ने घाँस लगाउनुभएको छ।

नेकपा माओवादी विभाजन नहुँदासम्म उहाँ मगरात राज्य समितिको सचिवालय सदस्यको जिम्मेवारीसम्म पुग्नुभएको थियो। माओवादीबाट मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भएपछि उहाँ वैद्यले नेतृत्व गर्नुभएको माओवादीमा क्रियाशील हुनुभयो। पछि नेत्रविक्रिम चन्द (विप्लव) को पार्टीमा लाग्नुभयो। श्रीस मगरले भन्नुभयो, “म अहिले पार्टीको कार्यकारी पदमा छैन। समय र परिस्थिति बदलिएको छ। त्यति बेला पार्टीलाई आवश्यक प¥यो, पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लागियो। आफ्नो पेसातिर फर्किएँ तर पार्टी र विचार भने छाडेको छैन।” अहिले राजनीतिलाई समय दिन सकिएन।

आफू अहिले राजनीतिभन्दा पनि अहिले कृषि पेसामा सन्तुष्ट भएको उहाँले बताउनुभयो। विप्लव नेतृत्वको पार्टीमा केही समय काम गर्दा बाख्रापालन व्यवसायमा घाटा भएको र पछिल्लो तीन वर्षदेखि राजनीतिमा भन्दा बाख्रापालनमा समय दिएकाले राम्रो हुँदै गएको उहाँले उल्लेख गर्नुभयो। परिश्रम गर्न सके बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ। व्यवस्थित खोर र संरचना बनाउँदा अहिलेसम्म करिब पाँच लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो।

खोर निर्माणका लागि गत वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट डेढ लाख रुपियाँ अनुदान पाएको उहाँको भनाइ छ। विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा (माओवादी) पार्टीमा आबद्ध हुनुभएको थियो। २०५८ सालदेखि उहाँ भूमिगत हुनुभयो। अहिलेको राजनीतिप्रति खुलेर कुरा नगरे पनि श्रीसमगरले जनयुद्धले नेपाली जनतामा परिवर्तन र राजनीतिक उपलब्धि ल्याए पनि त्यसलाई संस्थागत गर्न नेताले सही बाटो अपनाउन नसकेको बताउनुभयो।  आजको गोरखापत्र दैनिकमा समाचार छ ।