राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप

विकल्प न्यूज/बेनी
साउन ६ गते ।


नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहनुभएका पोलिट व्युरो सदस्य बस्नेतले विमानस्थलबाट अवैध रुपमा १ सय ५५ किलो सुन भित्रिनुमा अहिलेको सरकारको प्रत्यक्ष रुपमा संलग्नता रहेको दावी गर्नुभयो । उहाँले विदेशिएका युवाहरुले घर फर्किँदा आफूले कमाएको पैसाले दुईवटा मोबाइल ल्याउन नपाउने अवस्था रहेको बताउँदै अहिलेका गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा नेपालमा सुन भित्रिएको बताउनुभयो । उहाँले सेटिङमा सुन भित्रिएको दावी गर्दै अनुसन्धानलाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउनुभयो ।

एमाले पोलिट ब्यूरो सदस्य बस्नेतले आगामी चुनावदेखि एमालेले एक्लै चुनाव लड्न र कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह समेत गर्नुभएको छ । उहाँले चुनावमा मिलेका शक्तिले अन्तिममा आएर धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताउँदै एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्न नहुने बताउनुभयो । सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन नसकेको बताउँदै नेता बस्नेतले अहिले पनि राप्रपाले राजतन्त्रको प्रेत आत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको जिकिर गर्नुभयो ।

वर्तमान अवस्थामा नयाँ पार्टीहरु बोल्न सक्ने अवस्थामा नरहेको हुँदा उनीहरु बोलिहाले भने विवादमा पर्ने गरेको नेता बस्नेतको भनाइ छ । उहाँले देशलाई प्रतिशोधको दिशामा अगाडि बढाउन खोजिएको हुँदा भीम उपाध्याय जस्तो व्यक्तिहरु अदृश्य शक्तिबाट परिचालित भएको बताउनुभयो । उहाँले अब युवा संघलाई नयाँ र व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने भन्दै समुदायस्तमा रचनात्मक र सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवा संघका हरेक कमिटीहरुमा बौद्धिक सर्कल बनाउनुपर्ने बताउँदै साइबर सर्कललाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारीले एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था सकारात्मक रहेपनि अहिले त्यो अवस्था नरहेको बताउनुभयो । उहाँले आगामी २०८४ सालको निर्वाचनलाई अहिलेदेखि नै अर्जुनदृष्टि लगाएर युवा संघ अगाडि बढेको बताउँदै सोहीअनुसार युवा संघमा आबद्ध नेता, कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।
एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव महेन्द्र गुरुङले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष प्रंदीप तिलिजाको स्वागत र सचिव सुसन किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।