बेनी सामुदायिकका विद्यार्थीलाई बस सेवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ६ गते ।

म्याग्दीको सदरमुकाम स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीको सुविधा लागि बस सेवा संचालन गरेको छ । जिल्लाका सामुदायिक विद्यालयहरु मध्य बस सेवा संचालन गर्ने बेनी सामुदायिक पहिलो बनेको हो । बस सेवा संचालन हुनेभएपछि विद्यार्थीहरु खुसी भएका छन् ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र बेनी नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको दश÷ दश लाख रुपियाँ र विद्यालयको आन्तरिक स्रोतबाट ८ लाख गरी २८ लाख रुपियाँ लागतमा ४१ सिट क्षमता भएको स्कुल बस खरिद गरिएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

साउन १७ गते देखि नियमित रुपमा बस संचालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विद्यालयको थप शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको आकर्षण बढाउन बस सेवा सुरु गरिएको विद्यालयका प्रधानाध्यपक श्रेष्ठले बताउनुभयो ।

सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढेका कारण धेरै टाढा देखि अभिभावकहरु आफ्ना नानीबावुलाई भर्ना गर्न आउनुहुन्छ उहाँले भन्नुभयो, ‘‘सार्वजनिक बस प्रयोग गरेर समयमै विद्यालय आउन सकेका छैनन् । त्यस्ता बालबालिकाको सुविधाका लागि बस सेवा सुरु गरेका हौं ।’’
‘‘घर विद्यालय देखि टाढा छ तर बालबालिकाको पढ्ने चाहना यही विद्यालयमा छ त्यस्ता बालबालिकाको सहजताका लागि हामीले स्कुल बस संचालनमा ल्याएका हौं ’’ प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार बेनी नगरपालिका वडा नम्बर २ खबरा,दुधे खोला, ६ को डम्बरा, चुत्रेनी,बगुवाखोला,वडा नम्बर ९ को गलेश्वर र आवश्यक परेमा छिमेकी जिल्ला पर्वतको जलजला सम्म बस सेवा संचालन हुनेछ ।

सामुदायिक विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तरमा समेत सहयोग पु¥याउने विश्वास गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन बस खरिदका लागि बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि बस सेवाले टेवा पुग्ने नगर प्रमुख केसीले विश्वास गर्नुभयो । चालु आर्थिक वर्षमा पनि नगरभित्रका कुनै एक सामुदायिक विद्यालयलाई स्कुल बस खरिद गर्नका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बालकक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा करिब १३ सय विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले नेपालमै उत्कृष्ट भएर पुरस्कार समेत प्राप्त गरिसकेको छ ।