रुप्सेमा तयार भयो बेलिब्रिज

ठाकुरप्रसाद आचार्य/बेनी
साउन ४ गते ।


राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा बेलिब्रिज तयार भएको छ । तिनवर्ष अघि रुप्सेमा आएको बाढीले अस्थायी र निर्माणधिन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायमामा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुनेगरेको थियो ।

बेलिब्रिज निर्माण सहित दुईसय पचास मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एकवर्षमा निर्माण सक्नेगरी गत पुसमा ३ करोड ५९ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्काको सम्झौता समय एकवर्षको भएपनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम ६ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । ‘‘बेलिब्रिज जडानको काम तिनमहिनामा सम्पन्न भएको छ । पुलबाट सवारीसाधन आवतजावत गर्न थालेका छन् ।’’ सडक स्तरोन्नतिको काम केही वाँकी छ । पुल संरक्षणका लागि वारीपारी आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा वाढी आएपनि पुल सुरक्षित हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘झरनाको वारीपारीको सडक फराकिलो बनाएर ढुङ्गाको सोलिङ गरिएको छ । अघिल्लो वर्ष जस्तो सडक हिलो र माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम कम भएको छ । अव रुप्से खण्डमा सडक सहज भएको छ ।’’

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा कालिगण्डकीमा पक्की मोटरेबल पुल निर्माण भएसँगै उपयोगविहिन भएको ४८ मिटर लामो बेलिब्रिजलाई रुप्सेमा स्थान्तरण गरिएको उहाँले बताउनुभयो । बेलिब्रिज निर्माणका लागि दुवै तर्फ ग्यावियन वाल र आरसीसी वाल निर्माण गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंंह शेरचनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बेलिब्रिज निर्माण सकिएको छ । बर्खायाममा रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै यो समस्या हटेको छ । यातायातका साधनहरुलाई सहज हुनेभएको छ ।’’