ताजा समाचार:
Search

बरंजामा महिलाको नेतृत्वमा सिँचाई योजना निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असार २५ गते ।

म्याग्दीको मंगला गाउँपालिकाको ३ नम्बर वडा वरंजामा महिलाले नेतृत्व गरेको सिँचाई योजना दुई महिनामै सम्पन्न भएको छ । झ्याप्प्रे खोला तत्लो भेटीने सिँचाई योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।

चालु आर्थिक वर्षमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत विनियोजन भएको दश लाख रुपियाँ लागतमा योजना सम्पन्न भएको हो ।
सिँचाई कुलोबाट ३५ घरधुरीको एकसय ४७ रोपनी खेतमा सिँचाई सुविधा पुगेको उपभोक्ता समितिकी अध्यक्ष रेखा घिमिरेले बताउनुभयो । सिँचाई कुलोबाट पानी ल्याएर खेत रोपाईँ थालिएको उहाँले बताउनुभयो । सिँचाईको अभावमा अघिल्ला वर्षहरुमा धान रोपाईँ निकै दुःख हुने गरेको थियो उहाँले भन्नुभयो, ‘‘सिँचाई कुलो निर्माण भएपछि धान रोप्न सजीलो भएको छ । कुलो संचालनमा आएपछि किसानहरु खुसी भएका छन् ।’’
उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेको यो मेरो पहिलो अनुभव हो उहाँले भन्नुभयो, ‘‘योजनाको सम्झौता गर्न र श्रमदान जुटाउन कठिन होला भनेर सोचेकी थिएँ । तर सवैतीर सहज रुपमा काम सम्पन्न भयो । समयमै हामीले आफ्नो जिम्मेवारी सफल रुपमा सम्पन्न ग¥यौं ।’’
उहाँले भन्नुभयो, ‘‘चैतमा सम्झौता गरेको योजना बैशाखबाट काम थालेका थियौं । जेठको अन्तिम हप्ता योजना सम्पन्न गर्न सफल भयौं ।

योजनामा दश प्रतिशत श्रमदान गरेका छौं । मैले योजनाको नेतृत्व गरे पुरुषहरुले पनि साथ र सहयोग गर्नुभयो त्यही भएर समयमै योजना सम्पन्न गर्न सफलता मिल्यो ।’’उपभोक्ता समितिको कोषाध्यक्ष एकजना महिला र अन्यमा पदमा पुरुषहरु रहेको उहाँले बताउनुभयो । असार ५ गते सम्पन्न गर्नुपर्ने मिति भएपनि १५ दिन अगावै योजना सम्पन्न गरेको उपभोक्ता समितिकी अध्यक्ष घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार एकसय ४७ मिटर कुलो पक्की डलान गरिएको छ भने पाँचसय मिटर पाइप जडान गरिएको छ । महिलाले नेतृत्व गरेको सिँचाई योजना नमूनाका रुपमा सम्पन्न भएकाले आगमी आर्थिक वर्षमा थप कुलो निर्माणका लागि गण्डकी प्रदेश सरकारले दशलाख रुपियाँ विनियोजन गरिदिएको वडासदस्य कुलबहादुर थापामगरले बताउनुभयो ।

योजनाको उपभोक्ता समितिमा महिलाको नेतृत्व हुँदा लक्ष्य अनुसार काममा ध्यान दिई काम गर्ने भएकोले योजना सम्पन्न गर्न धेरै नै सजिलो भएको उपभोक्ता समितिका सचिव धनबहादुर पुनले बताउनुभयो ।

सिँचाई योजना सम्पन्न भएपछि कुलोको पानीले रोपाई गर्न सहज भएको स्थानीय किसान दधीलाल कँडेलले बताउनुभयो । पहिला कच्ची कुलो भएकाले खेतमा सिँचाई गर्न समस्या थियो उहाँले भन्नुभयो,‘‘अहिले पक्की कुलो निर्माण भएपछि सिँचाई गर्न सहज भएको छ । कुलोमा पानी आएसँगै खेत समयमै रोप्न थालेका छौं ।’’

महिलाको नेतृत्वमा योजना सम्पन्न गर्न सहज भएको र गुणस्तीय काम पनि भएको खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीका प्राविधिक मोतिलाल बलामीले बताउनुभयो ।