माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाड्नुभएको थियो ।
एसएलसीमा फेल भएपछि उहाँले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताउनुभएको थियो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो ।
घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समीर सुवेदीले ४ जिपिए नतिजा ल्याउनुभएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोत्कृष्ट बन्न सफल भएको बताउनुभयो । रासस