बेनीमा निर्माण भयो वाटर फाउन्टेन

विकल्प न्यूज\बेनी
असार १९ गते ।

बेनी बजारको आवाचोकमा पानीको फोहोरा(वाटर फाउन्टेन) निर्माण गरिएको छ । वडा नम्बर ७ ले खाली जमिनको सदुपयोग गर्दै आवाचोक स्थित सडकमा पानीको फोहोर(वाटर फाउन्टेन) निर्माण गरेको हो । वाटर फाउन्टेनले बजारको सौन्दर्यता बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षको बजेट १२ लाख पचास हजार रुपैयाँमा वाटर फाउन्टेन निर्माण गरिएको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । खाली जमिनको सदुपयोग गर्दै सडकलाई आकर्षक बनाउन र पर्यटन प्रवद्र्धन टेवा पुगोस् भनेर पानीको फोहोरा (वाटर फाउन्टेन) निर्माण गरिएको उहाँले बताउनुभयो ।

उपभोक्ता समिति मार्फत निर्माण गरिएको उक्त योजना सम्पन्न भई परिक्षणको तयारीमा रहेको छ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो,‘‘वाटर फाउन्टेन निर्माणको सवै काम सम्पन्न भएको छ । केही दिनभित्रमा परिक्षण गर्दछौं ।’’ बेनी खानेपानी तथा उपभोक्ता संस्थाले बजारमा वितरण गरेको पानीलाई फोहोरामा प्रयोग गरिने भएको छ ।

फोहोर संचालनका लागि स्थानीयस्तरमा व्यवस्थापन समिति गठन गरिने वडासदस्य सोहन श्रेष्ठले बताउनुभयो । दिनमा कति समय सञ्चालन गर्ने वा विशेष दिनमा मात्र संचालन गर्ने भन्ने वारेमा निर्णय हुन वाँकी रहेको उहाँले बताउनुभयो ।