बेनी नगरमा लक्ष्य भन्दा धेरै आन्तरिक राजश्व संकलन

विकल्प न्यूज/बेनी
असार १९ गते ।

म्याग्दीको बेनी नगरपालिका चालु आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा नगरले चार करोड २३ लाख ७० हजार आन्तरिक राजश्व संकलन गर्ने अनुमान गरेकोमा असार १९ गते सम्म चार करोड ५० लाख १८ हजार सातसय ६९ रुपियाँ संकलन भएको राजश्व शाखाले जनाएको छ ।

नगरपालिकाले आफ्नो एकल अधिकार क्षेत्र भित्रको कर तथा गैरकर राजश्व संकलन गर्दछ । यस भित्र व्यवसायको सिफारिस दस्तुर,नक्सा पास,सरकारी सम्पत्तिको भाडा,घरवहाल कर,भूमि कर लगायतका करहरु पर्दछन् ।

यो वर्ष हामीले अनुमान गरे भन्दा धेरै राजश्व संकलन गर्न सफल भएका छौं प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भन्नुभयो, ‘‘आन्तरिक आम्दानीका रुपमा रहेको राजश्व संकलनको यो सकरात्मक पक्ष हो । बजार क्षेत्रभित्रमा रहेका वडाका जनप्रतिनिधिहरुको सक्रिताका कारण चालु आर्थिक वर्षमा अनुमान गरेको भन्दा धेरै राजश्व संकलन गर्न सफल भएका हौ ।’’ यो वर्ष आन्तरिक आम्दानीका रुपमा रहेको राजश्व संकलनको अवस्था उत्साहजनक रहेको उहाँले बताउनुभयो ।