बेनीमा सञ्चालित शिव शिखर सहकारी बन्द हुँदा बचतकर्ता मारमा

विकल्प न्यूज\बेनी
असार १८ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था विगत पाँच महिना देखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएका छन् । बचतकर्ताहरु भने पैसा ढुब्ने चिन्तामा छन् ।

सुरुमा आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर सहकारीले आर्थिक कारोवार बन्द गरेको थियो । त्यसपछि सहकारी नै बन्द गरेर कर्मचारी र सञ्चालक सम्पर्क विहिन भएका हुन । सहकारी बन्द भएपछि बचतकर्ता पैसा ढुब्ने चिन्तामा छन् । एकवर्ष अघि न्यूरोडमा करिब ६ करोड रुपियाँमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

सहकारीले आकर्षक ब्याजको लोभ देखाएर बचतकर्ताबाट निक्षेप संकलन गरेको थियो । बचतकर्ता सेयरसदस्यको करिब साँढे ६ करोड रुपियाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ताहरु निराश हुँदै फर्किन बाध्य भएका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा सहकारी विरुद्ध उजुरी पर्न थालेको छ ।

ADV

सहकारीमा एकसय दिनका लागि पाँचलाख रुपियाँ जम्मा गरेको र बचत फिर्ता नपाएको बचतकर्ता दिपिया थापाले न्यायिक समितिमा बुझाएको निवेदनमा उल्लेख गर्नुभएको छ । एकसय दिन कटेपछि रकम झिक्न पटकपटक सहकारीमा जाँदा सहरीले रकम नदिएकाले रकम उपलब्ध गराइदिन भन्दै थापाले तिनमहिना अघि नगरमा निवेदन बुझाउनुभएको थियो ।

दिपिया सहित २५ जना बचतकर्ताले बेनी नगरपालिकाको न्यायिक समितिमा तिनमहिना अघि रकम फिर्ता पाउँ भन्ने ब्यहोराको उजुरी प्राप्त भएको नगरका प्रशासन शाखा प्रमुख लक्ष्मण पौडेलले बताउनुभयो । ‘‘सहकारीका बचतकर्ताहरुले न्यायिक समितिमा उजुरी दिनुभएको छ,’’ उहँले भन्नुभयो, ‘‘उजुरीलाई केन्द्रिय सहकारी विभागमा पठाएका छौं । माथिबाटै आवश्यक छानविन र अनुशन्धान होला ।’’

शिव शिखर यहाँ दर्ता नभएको र यसको नियमन र अनुगमन केन्द्रियस्तरबाट गर्ने भएको र यो समस्या देशभर नै भएकाले यसको जानकारी सहकारी विभागलाई गराएको उहाँले बताउनुभयो । सहकारीका कर्मचारीले समेत चार महिनाको तलब नपाएको सन्देश बानियाँले बताउनुभयो ।
सहकारीको बेनी शाखाकी इन्चार्ज सुशिला घर्तीले अहिले सहकारीको सम्पूर्ण आर्थिक कारोबार बन्द भएको टेलिफोन सम्पर्कमा बताउनुभयो । सहकारीको केन्द्रीय कार्यालयबाट अहिलेको समस्या व्यवस्थापन गर्ने गरी छफलफल भएको उहाँको भनाई थियो ।

‘‘सहकारीका संचालकहरुले निक्षेप फिर्ताका लागि पैसाको व्यवस्थापन गर्न पहल गरिराखेको हामीलाई जानकारी गराउनुभएको छ,’’ उहाँले भन्नुभयो,‘‘पैसाको व्यवस्थापन नभएसम्मका लागि सहकारीको आर्थिक कारोबार बन्द भएको छ ।’’ शिव शिखर मात्र होइन बेनीमा ठूला कहलिएका केही सहकारीले पनि बचत फिर्ता गर्न सकेका छैन । असार मसान्त लाग्दै गर्दा बचतकर्ताको सहकारीमा चाप परेको छ । पछिल्ला समय सहकारीहरुले सर्वसाधारणहरुको विश्वास गुमाउन थालेका छन् । सहकारीहरु समस्याग्रस्त हुनथालेका छन् ।