विकल्प न्यूज/बेनी
असार १७ गते ।
म्याग्दीको बेनी नगरपालिकाले समृद्ध पर्यटकीय बेनी नगर भन्ने अवधारणासँगै नगर क्षेत्रभित्र पर्यटकीय संभावना वोकेका स्थानहरुको पहिचान एवम् प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । पर्यटन गुरुयोजनाका लागि आगमी आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ ।
नगरपालिकाले गत आइतवार आगमी आर्थिक वर्ष २०८०/०८१ का लागि पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘‘एक वडा एक पर्यटन परियोजना’’ कार्यक्रम संचालनका लागि सबै वडाहरुमा पर्यटन परियोजनाको डिपिआर बनाउने नगरप्रमुख सुरत केसीले बताउनुभयो । उहाँका अनुसार निजी क्षेत्र,संघ संस्था तथा प्रदेश सरकारसँग साझेदारी गर्ने र संभाव्यता अध्ययन गरी डिपिआर तयार पारिने छ ।
यस्ता छन् बेनी नगरपालिकाले अगाडी सारेका पर्यटन परियोजनाहरु ः
वडा नम्बर १ रत्नेचौरदेखि पर्वतको जलजला गाउँपालिका ७ जोड्ने गरी झोलुङगे पुल निर्माण गरी विश्वको दोस्रो लामो पुल र बन्जीजम्प निर्माण परियोजना,भाइरल तोरवारी हुँदै ज्यामरुकोट,स्वर्गाश्रम,बेलढुङ्गा पर्यटन पदमार्ग निर्माण परियोजना संचालन गरिने ।
वडा नम्बर २ मा सार्वजनिक निजी साझेदारी अन्तर्गत लभ्लीहिलमा रिर्सोट तथा जिप फ्लायर परियोजना । वडा नम्बर ३ मा स्वर्गाश्रम ध्यान केन्द्र निर्माण गर्ने । वडा नम्बर ४ मा तातोपानी कुण्डलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने ।
यसैगरी वडा नम्बर ५ मा पुलाश्रम रावण पार्क तथा तपोभूमी परियोजना । वडा नम्बर ६ मा अतिथि सत्कार गृह (होमस्टे) निर्माण परियोजना संचालिन गरिने । त्यस्तै वडा नम्बर ७ मा शान्ति पार्क परियोजना । कालिगण्डकी तथा म्याग्दी नदीमा सिल्ट्रेशन ड्याम निर्माण गरी स्टीमर संचालनको संभाव्यताको अध्ययन गरिने । वडा नम्बर ८ को कालिपुल पुरानो बजारमा घरवास (होमस्टे ) संचालनको संभाव्यता अध्ययन गरिने । वडा नम्बर ९ मा रहेको गलेश्वरधाम देखि पुलाश्रम घतानकोत ढोल्ठान दरवार हुँदै जग्नाथ जोड्ने पदमार्गको संभाव्यता अध्ययन गरिने ।
वडा नम्बर १० मा घारसुन्ना पर्यटन विकास र रघुगंगा गाउँपालिका सँग साझेदराीमा टोड्के पर्यटन विकास परियोजना । होमस्टेलाई मौलिक नामाकरण गरी स्थानीय उत्पादनमा प्रवद्र्धन गर्ने नगरले नीति लिएको छ । नगरमा रहेका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास तथा प्रवद्र्धन र सञ्चालिकरण मार्फत पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै पर्यटन विकासलाई व्यवसायको रुपमा विकास गर्ने नीतिलाई आगमी आर्थिक वर्षदेखि प्रभावकारी रुपमा अगाडी बढाउने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।
उहाँका अनुसार रावण पार्क निर्माणलाई पूर्णता दिइने र नगर क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरु गलेश्वरधामपुलाश्रम,जगन्नाथ मन्दिर,कपिलाश्रम,स्वर्गाश्रम,ज्यामरुकोट,बेनीकोट,गुफाराम मन्दिर,शिवालय मन्दिर जस्ता धार्मिक र सांस्कृतिक सम्पदाहरुको विकास संरक्षण र प्रचारप्रसार गरी उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय सर्किटको रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकार सँग समन्वय गर्ने नगरले नीति तथा कार्यक्रममा समेटेको छ ।