सहमति जुटेपछि जलजलाको १४ औं गाउँसभा पुनः सुरु

विकल्प न्यूज/जलजला
असार १४ गते ।

पर्वतको जलजला गाउँपालिकाको १४ औं गाउँसभा पुन सुरु भएको छ । यसअघि आह्वान गरिएको पहिलो र दोस्रो गाउँसभाको वैठकमा गणपुरक संख्या नपुगेको भन्दै तेस्रो पटक आज विहिवार सभा बसेको थियो । गाउँसभाका बहुमत सदस्यहरुले विरोध गरेपछि स्थगित भएको गाउँसभा दिनभर हुनसकेन ।

गाउँसभा स्थगित भएपछि पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य र नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु सहमति जुटाउन छलफल र बार्तामा जुट्नुभएको थियो । दुवै पक्षविच सहमति भएपछि गाउँसभा सुरु भएको कार्यपालिका सदस्य भिमसेन बराइलीले बताउनुभयो ।

अहिले अध्यक्ष आचार्यले गाउँसभामा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले बजेट प्रस्तुत गर्ने र गाउँसभाबाट पारित गर्ने कार्यक्रम तय भएको वडा नम्बर ५ का वडाध्यक्ष तिलक जिसीले जानकारी दिनुभयो ।

हामीले उठाएका माग र विषयहरु पालिका अध्यक्षले सम्बोधन गर्नुभयो, उहाँले भन्नुभयो,‘‘नीति तथा कार्यक्रम र बजेटमा हाम्रो असहमति थियो । संसोधन गर्नुपर्ने हाम्रो माग थियो । अध्यक्षले माग सम्बोधन गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन तयार भएपछि सहमति जुट्यो ।’’ अहिले गाउँसभा जारी छ ।

आजै गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गर्ने जनाइएको छ ।