विकल्प न्यूज/जलजला
असार १० गते ।
म्याग्दीको बेनी सँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिको गाउँसभा स्थगित भएको छ । आइतबार आह्वान गरिएको गाउँसभाको १४ औं अधिवेशनमा गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरिएको हो ।
नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभाका सदस्यहरु गाउँसभाको अधिवेशनमा अनुपस्थित भएपछि सभा वस्नका लागि आवश्यक संख्या नपुगेकाले वैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । गाउँसभाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेकाले गाउँसभा स्थगित गरिएको र गाउँसभाको दोस्रो वैठक असार १२ गते आह्वान गरिएको सूचना पढेर सुनाउनुभएको थियो ।
गण्डकी प्रदेश सरकारको गाउँसभा/नगरसभाको सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को दफा ६ को उपदफा १ बमोजिम गण्पुरक संख्या नपुगेका कारण गाउँसभा स्थगित भएको र सोही दफाको उपदफा २ बमोजिमको प्रावधान बमोजिम १४ औं गाउसभाको दोस्रो बैठक असार १२ का लागि आह्वान गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।
यता नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यहरुले नीति तथा कार्यक्रम र बजेटमा सहमति कायम नभएको हुँदा गाउँसभामा अनुपस्थित भएको वडा नम्बर ५ का वडाध्यक्ष तिलक जिसीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘पालिका अध्यक्षले कार्यापालिका सदस्यहरुसँग कुनै सरसल्लाह नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन खोज्नुभयो । हाम्रो मागको कुनै सुनुवाई भएन । नीति तथा कार्यक्रम र बजेट कार्यापालिकाबाट पारित भएको छैन । कार्यापालिकाले पारित नगरी कसरी बजेट ल्याउन मिल्छ ? हामी बहुमत कार्यापालिका सदस्यहरुलाई पेल्न खोजेपछि गाउँसभामा अनुपस्थित भएका हौं ।’’
ADV
गाउँसभाका ४७ सदस्यहरुमा नेकपा एमालेका २७ र नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका गरेर २० जना सदस्यहरु छन् । बजेटको न्यायोचित वाँडफाँड नभएपछि गाउँसभामा अनुपस्थित भएको कार्यापालिका सदस्य भिमसेन बराइलीले बताउनुभयो । पालिका अध्यक्षले बजेटलाई आफूखुसी बाँडफाँड गरेपछि हाम्रो यसमा असहमति हो बराइलीले भन्नुभयो, ‘‘बजेट बाँडफाँड गर्दा सवै वडालाई न्योचित हुने गरी गर्नुपर्दछ । योजनाका आधारमा बजेट वितरण गर्नुपर्दछ भन्ने हामे माग हो ।’’
पालिका अध्यक्ष आचार्यले नीति तथा कार्यक्रम र बजेटमा खासै धेरै असहमति नभएको र सहमतिको प्रयास सफल हुननसकेको बताउनुभयो । गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउने कार्यक्रम प्रभावित भएको छ ।