ताजा समाचार:
Search

अन्नपूर्णको दोबामा अस्पताल भवन निर्माण

ठाकुरप्रसाद आचार्य/बेनी
असार १ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभुत तहको अस्पताल संचालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो । सरकारले तिनवर्ष अघि स्थानीय तह सम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अघि सारेको थियो ।

अपाङ्गमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको पालिकाका इन्जिनियर इश्वर भण्डारीले बताउनुभयो । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनीक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो तल्लाका तिनवटा कोठामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गरिएको छ ।

पालिकाले भवन निर्माणका लागि २०७८ बैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार छ सय ५२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता लगत्तै निर्माण कम्पनीले मजदुर र उपकरण जुटाएर भवन निर्माणलाई तिव्रता दिएको थियो । पछिल्लो पटक थपिएको म्याद २०७९ फागनु मसान्त भित्र नै निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।

‘‘अस्पतालको भवन निर्माण भएको छ । जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर अस्पताल चाँढैनै संचालनमा ल्याउछौं,’’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भन्नुभयो, ‘‘भवन मात्र बनेको छ । अस्पतालका लागि आवश्यक पर्ने मेडिकल उपकरण,फर्निचर र अस्पतालको कम्पाउण्डीङ गर्ने ठूलो खर्च पालिकाले व्यवस्थापन गर्नुपर्दछ ।’’

अस्पताल संचालनमा आएपछि दुर्गम भेगका वासिन्दाहरुले स्वास्थ्य सेवा लिन सहज हुने पालिकाका अध्यक्ष भारतकुमार पुनले विश्वास व्यक्त गर्नुभयो । आगमी आर्थिक वर्षमा अस्पताल संचालनमा ल्याउनका लागि पालिकाले आवश्यक बजेटको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

सो जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपियाँ भन्दा बढी छ । अस्पताल भवन निर्माणा लागि नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । गाउँमै सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएपछि दोबावासीहरु उत्साहित भएका छन् ।