ताजा समाचार:
Search

पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासी उत्साहित

ठाकुरप्रसाद आचार्य\बेनी
जेठ ३१ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । हिउदमा धुलो र बर्खायाममा हिलोका कारण वर्षौदेखि सास्ती भोग्दै आएका पिप्ले र भगवतीका स्थानीयहरु घरछेवैको सडक धमाधम कालोपत्रे हुनथालेपछि खुसी भएका हुन ।

‘‘घर नजिकको सडक कालोपत्रे हुनथालेको छ । डेढदशक देखि धुलो र हिलो सडकका कारण निकै सास्ती भोगियो स्थानीय मिठु परियारले भन्नुभयो, ‘‘सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्या हट्ने,भाडादर घट्नुका साथै गाउँको सुन्दरता पनि थपिने भएपछि स्थानीयहरु उत्साहित भएका छौं ।’’

ट्रयाक खुलेको १६ वर्ष पछि वडा नम्बर ३ को पिप्लेको स्कुल चोकदेखि २ को भगवती मैदानसम्म साढे चार किलोमिटर सडक कालोपत्रे योजना अगाडी बढाइएको हो । विसं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख आठसय ३८ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम अन्तरगत तत्कालिन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीका अनुसार पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार दशमलब ५ किलोमिटर सडकमा बेस र सबवेसको काम सकेर कालोपत्रे गर्नका लागि प्राइमकोट बिछ्याउन थालिएको बताउनुभयो । ठेकेदारको ढिलासुस्तीका कारण समयमै योजना सम्पन्न हुननसकेको उहाँले बताउनुभयो ।

असार मसान्तसम्म सडक कालोपत्रेको सम्पूर्ण काम सक्ने गरी कामलाई तिव्रता दिइएको निर्माण व्यवसायीका तर्फका इन्जिनियर रामु कँडेलले बताउनुभयो । दुईवर्ष भित्र सम्पन्न गर्नुपर्ने उक्त योजना निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुईवर्ष ढिला गरी सम्पन्न हुनलागेको हो ।

सरोकारवालाहरुको निरन्तरको खबरदारी र दबावका कारण निर्माण व्यवसायी कार्यस्थलमा फर्किएर सडक कालोपत्रेको काम थालेको प्रदेश सभा सदस्य हरीबहादुर भण्डारीले बताउनुभयो । वडा, पालिका, जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिहरुले पिप्ले–भगवति सडक आयोजना निर्माणलाई गति दिन दवाव, सहजिकरण र समन्वय गर्नुभएको थियो ।
गलेश्वरदेखि बगैँचा र बगैँचादेखि रघुगंगा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडकमा पहिरोको कारण स्तरोन्नति योजना अघि नबढेपछि मैदानदेखि माथि साझपानी बेग जाने बाटोको सडक फराकिलो र ढलान काम अघि बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अधिकारीले बताउनुभयो ।

सदरमुकाम बेनी देखि गलेश्वर, पिप्ले र भगवती हुँदै बेग सडक कालोपत्रे भएमा रघुगंगाबासीलाई आवातजावतमा सहज, कृषिउपजको बजारीकरणमा, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज हुने वडानम्वर २ का वडाअध्यक्ष अमृत भण्डारीले बताउनुभयो । सडक कालोपत्रे भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।