अन्नपूर्णको चुचुरोमा क्रिस्टिन हरिला

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ २२ गते ।

एकहप्ता अघि क्रिस्टिन हरिलाले धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । 

नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिलाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गर्नुभएको छ । सोमबार विहान ६ बजे हरिला र उहाँका सहयोगीहरुले अन्नपूर्णको सफल आरोहण गरेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

हिमाल आरोहणका लागि क्रिस्टिन चारदिन अघि म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर पुग्नुभएको थियो । मौसम अनुकुल भएसँगै उहाँ आधार शिविरमा धेरै समय पर्खनु परेन ।

सँगै तेन्जीन शेर्पा,पासाङ नेर्बु शेर्पा,लेक्पा तेम्बा शेर्पा,मिङ्मा तेन्जीङ शेर्पा र लेक्पा ग्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो । छ महिना भन्दा कम समयमा ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व किर्तिमान कायम गर्ने दौडमा हरिला हुनुहुन्छ ।

अघिल्लो वर्ष १२ वटा हिमाल आरोहण गरेर चीन तर्फका दुईवटा हिमाल आरोहण गर्न अनुमति नपाएपछि हरिलाको विश्व रेकर्ड राख्ने चाहना अधुरो भएको थियो ।

हरिलाले एकहप्ता अघि धौलागिरिको सफल आरोहण गरेर अन्नपूर्ण आरोहणका लागि आउनुभएको थियो । सन २०१९ मा पुर्जाले कायम गरेको विश्व किर्तिमान तोड्न हरिला यसपाली आरोहणका क्रममा हुनुहुन्छ ।