बेनी नगरमा बेथितिको चाङ,खाना र खाजामा ४० लाख खर्च

विकल्प न्यूज/बेनी
जेठ १७ गते ।

म्याग्दीको बेनी नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरका प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाल नै अनियमिततामा मुछिएका छन् । कार्यालयमा हाजिर गरेर भत्ता बुझेको र असूल उपर गर्नुपर्ने महालेखापरीक्षकको अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा औंल्याएको छ । ढकाल मात्र होइन नगरपालिकाका केही कर्मचारीहरु अनियमिततामा मुछिएका छन् ।

नगरमा बेरुजु नियन्त्रण गर्ने,असूलउपर गर्ने,आर्थिक प्रशासनलाई पारदर्शी बनाउने र नियमन गर्ने मुख्य जिम्मेवार पदमा रहेका प्रमुख प्रशासकीय अधिकृत नै आर्थिक अनियमितताको विवादमा मुछिएका हुन । महालेखापरीक्षकको प्रतिवेदनले बेनी नगरपालिकामा थुप्रै अनियमिततालाई उजागर गरिदिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार बेनी नगरमा अघिल्लो आर्थिक वर्षमा खाना,खाजा र विविध खर्चमा ३९ लाख ९४ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने महालेखाले सुझाएको छ । नगरका हाकीम र लेखाका कर्मचारीको मेलेमतोमा होटलबाट फर्जी विल बनाई भुक्तानी गरेको देखिएको छ ।

नगरपालिकाका कुनै पनि कार्यक्रम र बैठकमा खाजा र खाना नलैजाने बेनीको एक होटलका नाममा गत वर्ष एकलाख भन्दा बढीको चेक काटिएको फेला परेको छ ।

बेनी नगरका एक जनप्रतिनिधिले भने, ‘‘उक्त होटलबाट नगरमा हुने कार्यक्रम,वैठक कुनै पनि खाजा वा खाना लैजाने गरिएको देखिएको छैन तर गत असारमा उक्त होटललाई एकलाख भन्दा बढी रकम भुक्तानी गरेको देखियो ।’’ खाना र विविध खर्चमा नगरको अस्वभाविक खर्च देखिएको ति जनप्रतिनिधिले भने ।

यसैगरी स्वास्थ्यकर्मीहरुको लागि पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रमको बजेटबाट खोप अनुगमन भनी २०७८ कार्तिक ११ देखि १८ गते सम्म सञ्चालित स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रमको बजेट २०७८ साउन,भदौं,कार्तिक,मंसिर र पुस महिनाको खोप अनुगमनमा गएको भनी भ्रमण भत्ता भुक्तानी भएको ८८ हजार रुपियाँ समेत असुल उपर गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै महालेखाको प्रतिवेदनमा नगरपालिकाले खरिद गरेको औषधिमा समेत प्रश्न गरेको छ । नगरपालिकाले शसर्त चालुबाट अघिल्लो आर्थिक वर्षमा पटक पटक गरी १९ लाख ७ हजार ७ सय ६६ रुपियाँको औषधि सोझै खरिदको माध्यमबाट खरिद गरी चिराग फार्मेशी पोखरालाई भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले उक्त खरिद भएको औषधि डब्लु.एच.ओ सर्टिफाइड हुनुपर्नेमा नभएको,औषधिको उत्पादन मिति,ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मचुल्का उठाई राख्ने नगरेको र उक्त औषधि विक्रीको लागि होइन भन्ने ब्यहोरा खुलाएको प्रमाण समावेश नभएको भनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसैगरी प्रतिवेदनमा किसानलाई वितरण गर्नुपर्ने बर्खे फलफुलका बेर्नाहरु नगरपालिकाका ९ जना कर्मचारीलाई वितरण गर्नु व्यवहारिक र न्यायसम्मत नदेखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

#यो पनि पढ्नुहोस्

बेनी नगरका कर्मचारीको बदमासी ः कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन