माउण्ट एभरेष्टमा सुरक्षा सचेतना विषयक अन्तरक्रिया

विकल्प न्यूज/बेनी
जेठ १७ गते ।


माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा मङ्गलवार सुरक्षा सचेतना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सञ्जालको प्रयोग र आधारभूत सुरक्षाको विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै निवर्तमान प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय समाजमा अपराधिक क्रियाकलापहरु बढ्दै गैरहेको हुँदा यसलाई सबैले न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालको गलत प्रयोगले दैनिकजसो हिंसालगायत अपराधजन्य घटनाहरु बढिरहेकाले सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।


कार्यक्रममा एआईजी सुवेदीले उचित तरिकाले सामाजिक सञ्जालको प्रयोग, घरेलु तथा सामाजिक र लैङ्गिक हिंसाको न्यूनीकरण, लागूऔषधको नियन्त्रण, संस्कारयुक्त जीवनशैली अपनाउनेलगायत विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै माउण्ट एभरेष्ट आमाविका सञ्चालक समिति अध्यक्ष प्रमोद श्रेष्ठले विद्यालयमा शैक्षिक गतिविधिहरु सञ्चालनसँगै नियमित रुपमा अतिरिक्त क्रियाकलापहरुलाई पनि जोड दिइएको बताउनुभयो ।
नेपाल प्रहरी गण्डकी प्रदेश गणका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीको विशेष उपस्थिति रहेको कार्यक्रममा कक्षा ९ र १० का एकसय ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सञ्चालक समिति अध्यक्ष श्रेष्ठले अध्यक्षता गर्नुभएको कार्यक्रम विद्यालयका शैक्षिक निर्देशक राजु केसीले स्वागतसहित सञ्चालन गनुर्भएको थियो ।