प्रताप बानियाँ /विकल्प न्यूज
जेठ १३ गते ।
सरस्वती माध्यमिक विद्यालय तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको आधारमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्राप्त छात्रवृत्ति लक्षित विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ८ अर्थात् आधारभूत तहसम्म अध्ययनरत दलित छात्रछात्रा र अन्यतर्फ छात्रालाई छात्रवृत्तिस्वरुप प्राप्त रकम वितरण गरिएको छ ।
प्रति विद्यार्थी चारसय रुपैयाँको दरले कुल ९४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । उक्त छात्रवृत्ति रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य, प्रअ बानियाँ र विद्यालयका शिक्षकहरुले सम्बन्धित विद्यार्थीहरुको अभिभावकको रोहबरमा विद्यार्थीलाई प्रदान गर्नुभएको थियो । विद्यालयले छात्रवृत्ति वितरणको साथमा विद्यालयमार्फत शुक्रवार र अन्य समयमा विद्यार्थीलक्षित अतिरिक्त क्रियाकलापलगायत कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसका साथै विद्यालयले अन्य सहयोगी दाताहरुको समेत खोजी गरेर विद्यार्थीहरुलाई विभिन्न सहयोगहरु पनि उपलब्ध गराउँदै आएको बताएको छ । २०२८ सालमा स्थापित सरस्वती माध्यमिक विद्यालयमा हाल प्रावि दरबन्दी १०, शिक्षण सहयोग अनुदान २, कुण्ड व्यवस्थापन समितिबाट ४ र कर्मचारी ३ गरी कुल १९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।
गतवर्ष विद्यालयले माध्यमिक शिक्षा परीक्षामा २ दशमलव ७६ जिपिए ल्याएर जिल्लामा द्वितीय स्थान हासिल गर्न सफल भएको जनाएको छ । विद्यालयले हाल मावितर्फ विज्ञान विषय अध्यापन गराउनका लागि शिक्षकको अभाव रहेको जानकारी दिएको छ । विभिन्न मितिमा शिक्षक आवश्यकताको लागि सूचना जारी गर्दा समेत विज्ञान विषयको जनशक्ति पाउन समस्या भैरहेको बताइएको छ ।
यसैबीच २०७७ सालमा वर्षायामको समयमा म्याग्दीखोलामा आएको बाढीले विद्यालय पछाडिको सडक कटान गर्दा विद्यालय उच्च जोखिममा परेको छ । विद्यालयसँगै तातोपानी जलमाई भगवती आमा समूहको भवन, मानववस्ती र बेनी–दरबाङ जोड्ने तातोपानीको तल्लो सडक कटान गरेको हुँदा पटकपटक संरक्षणको लागि पहल गर्दा पनि सम्बन्धित निकायबाट उचित सम्बोधन हुन सकेको छैन ।
म्याग्दीखोलाको कुनापट्टी संरक्षणको लागि सामान्य छेकबाँध लगाइएको भए पनि ठूलो बजेटको काम नहुँदा विद्यालय, आमा समूहको भवन, मानववस्ती र सडक उच्च जोखिममा परेको हो । विद्यालयसहित अन्य क्षेत्रलाई समेत जोगाउनको लागि तत्काल योजनामार्फत संरक्षणको काम गर्नुपर्ने विद्यालयका प्रअ बानियाँले माग गर्नुभयो ।