१७ वर्षपछि कालिगण्डकी गर्ज निर्माण प्रक्रिया सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ २ गते ।

 
सर्वे भएको १७ वर्षपछि १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । यो आयोजना म्याग्दीको अहिले सम्मको सवै भन्दा ठूलो आयोजना हुने छ । मुस्ताङ र म्याग्दी जिल्लामा आयोजनाको संरचना बनाउने गरी २०६३ सालमा कालिगण्डकी गर्जको सर्वे गरिएको थियो । ठूलो आयोजना भएकाले लगानी जुटाउन नसकेर अलपत्र परेको थियो ।

गत मंसिर महिनामा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनबाट त्रिवेणी इनर्जी प्रा.लिले कालिगण्डकी गर्जको स्वामित्व लिएसँगै आयोजना निर्माणको प्रक्रिया थालिएको हो । कालिगण्डकी नदीबाट विद्युत उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको पहिलोपटक सर्वे गरिएको थियो ।
आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको छ । आयोजनामा ६ किलोमिटर सुरुङ निर्माण गरिने प्रस्तावमा उल्लेख गरिएको छ । आयोजनाले म्याग्दी र मुस्ताङमा जलविद्युत क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने आशा गरिएको छ । हाल सम्म विभिन्न जलविद्युत कम्पनीहरुले आयोजनालाई अगाडी बढाउन खोजेपनि लगानीकर्ताको अभावमा अलपत्र परेको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । तर चिनीया पक्ष लगानीबाट पछि हटेपछि आयोजना पाँचवर्ष देखि अलपत्र परेको थियो ।
गत मंसिरमा उक्त कालिगण्डकी गर्जको सम्पूर्ण स्वामित्व त्रिवेणी इनर्जी प्रा.लिले लिई स्वदेशी लगानीमा आयोजना निर्माणको प्रक्रिया अगाडी बढाइएको प्रा.लिका प्रशासन प्रमुख विजय कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अव हामी आयोजना बनाउने गरि आएका छौं,आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ सहयोगको खाँचो छ । एकवर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौं ।’’

उहाँका अनुसार अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदविक्री सम्भौता(पिपिए) गरिसकेको छ । आयोजनाको कुल लागत ४३ अर्ब अनुमान गरिएको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मुल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थालिने उहाँले बताउनुभयो ।

अहिले आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुशन प्रा.लिले आयोजनाको वातवरणीय र सामाजिक प्रभाव मुल्याङ्कनलाई अगाडी बढाएको छ । सोलुशनका आर्थिक,सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ती ढुङ्गानाले आयोजनाको पुरक वातावरणीय प्रभाव मुल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । शुक्रबार म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले आयोजना क्षेत्रको स्थलगत रुपमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा जनप्रतिनिधिहरुले अझै पनि आयोजना निर्माण हुनेमा शंका व्यक्त गरेका थिए ।
‘‘आयोजना बन्ने कुरामा अझै विश्वास गर्ने वातावरण बनिसकेको छैन,’’ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका अध्यक्ष रमेश पुर्जाले भन्नुभयो, ‘‘ विगतमा आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गरियो तर त्यसपछिका कुनै पनि प्रक्रियाहरु अगाडी बढेनन् । अझै पनि आयोजना बन्ने कुरामा जनताले विश्वास गरेका छैनन् ।’’ आयोजना प्रभावितहरुको विश्वास जितेर आयोजनाले काम अगाडी बढाउनुपर्ने उहाँको भनाई छ ।
त्यस्तै आयोजना प्रभावित ४ नम्बर वडा नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले आयोजना प्रभावितवासीहरुसँग हातेमाले गरेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । स्थलगत रुपमा गरिएको भ्रमणका क्रममा मुस्ताङ र म्याग्दीका जनप्रतिनिधि सहित सुरक्षा निकायका प्रमुखहरुले आयोजनालाई अगाडी बढाउन आवश्यक पर्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ । यसअघि वहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनालाई अर्धजलाशय बनाउन विद्युत विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।

आयोजनाले नारच्याङमा तीन करोड रुपियाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा यसअघिनै अधिग्रहण गरिसकिएको छ । उत्पादित विद्युत १ किलोमिटर माथि दानामा निर्माण भएको २२० केभीए कालीगण्डकी करिडोर प्रसारण लाईनको सवस्टेसनमा जोडिने छ ।