‘युद्ध पोल’ बेनी फर्किएला त !

ठाकुरप्रसाद आचार्य/बेनी
बैशाख २८ गते ।


तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला गोली लागेर छियाछिया बनेको विजुलीको पोल बेनी फिर्ता हुने भएको छ ।
२०६० चैत ७ गते तत्कालिन माओवादीका जनसेना र शाही नेपाली सेनाबीच भएको भिषण भिडन्तका क्रममा दुवै तर्फबाट गोली लागेर सयौं प्वाल परेको विजुलीको पोल ललितपुर स्थित मदन पुरस्कार पुस्तकालयबाट बेनी ल्याइने भएको हो । तत्कालिन समयमा बेनी बजारमा रहेको सेनाको कालिप्रसाद गण छेउमा रहेको उक्त पोल दोहोरो भिडन्तका क्रममा छियाछिया परेको थियो ।

बेनी आक्रमणको निशानीका रुपमा रहेको उक्त पोललाई म्याग्दीवासीले युद्ध पोलका रुपमा लिने गर्दछन् । युद्धको निशानीका रुपमा रहेको उक्त पोललाई बेनीमै नै फिर्ता ल्याउन यसअघि विभिन्न निकायहरुले पहल गर्दै आएका थिए ।

पुस्तकालयका अध्यक्ष कनकमणी दीक्षितले मंगलवार जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित युद्धको चिनारी विजुलिको पोल फिर्ता दिने पत्र प्राप्त भएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

बेनी ल्याईने उक्त पोललाई बेनीको विरेन्द्रचोकमा निर्माण गरिने शान्तिपार्क संरक्षण गरेर राखिने प्रमुख थापाले बताउनुभयो । ‘‘जिससले उक्त पोललाई फिर्ता दिन अनुरोध सहित पुस्तकालयका अध्यक्ष दिक्षितलाई भेटी अनुरोध गरेका थियौं,’’ प्रमुख थापाले भन्नुभयो, ‘‘हाम्रो अनुरोधलाई उहाँले सकरात्मक रुपमा लिँदै पोल फिर्ता दिने पत्र पठाउनुभएको छ । पोललाई शान्तिपार्कमा संरक्षण गरेर राख्छौं ।’’

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पोललाई बेनी ल्याउने जनप्रतिनिधिहरुको प्रयासले सार्थकता पाउन लागेको भन्दै उक्त पोललाई युद्ध चिनारीका रुपमा संरक्षण गरेर राख्ने योजना नगरपालिकाले बनाएको बताउनुभयो ।